प्रहरी, विमानस्थल व्यवस्थापन र कार्गो व्यवसायीबीचको असमझदारीले अन्तर्राष्ट्रिय निर्यात व्यापार दुई दिनदेखि ठप्प

सरोकारवालाहरुबीच बिहीबार विहान ११ बजेदेखि ४ बजेसम्म भएको वार्ताको सहमति कार्यान्वयन हुन नसकेपछि निर्यात व्यापारले निरन्तरता पाउन नसकेको हो ।

श्रावण १, २०८३

ऋषिराम पौड्याल

International export trade has been halted for two days due to a misunderstanding between police, airport management, and cargo businessmen.

What you should know

काठमाडौँ —  

त्रिभुवन विमानस्थलको व्यवस्थापन, विमानस्थल भन्सार र प्रहरीबीचको असमझदारीका कारण बुधबारदेखि अन्तर्राष्ट्रिय उडानमार्फत हुने निर्यात व्यापार दुईदिनदेखि ठप्प भएको छ । समस्या समाधान नभएसम्म व्यवसायीले शुक्रबार(आज) पनि निर्यात नगर्ने अडान राखेका छन् । सरोकारवालाहरुबीच बिहीबार विहान ११ बजेदेखि ४ बजेसम्म भएको वार्ताको सहमति कार्यान्वयन हुन नसकेपछि निर्यात व्यापारले निरन्तरता पाउन नसकेको हो । 

विशेषतः प्रहरीले विमानस्थलको जाँच कक्षमा देखाएको सक्रियताले सिभिल प्रशासनको भूमिका गौण बन्दै गएको र सुरक्षाको नाममा आफूहरुलाई दुःख दिएको आरोप कार्गो व्यवसायीले लगाएका छन् । निर्यात व्यापार रोकिएकेपछि अमेरिका, युरोपलगायतका मुलुकमा पठाउनुपर्ने मालवस्तु विमानस्थल भन्सार गोदाममा थन्केको छ । 

प्रहरीले सामान जाँच गरिसकेपछि कार्गोका कर्मचारी गोदाममा गएर सामान मिलाउने, लेबल गर्ने र मार्किङ गर्ने काम गर्न पाउने कि नपाउने विवाद समस्याको जडको रुपमा देखिएको छ । बेलाबेलामा सुन लगायतका वस्तुहरु फेला परेका कारण प्रहरीले भन्सार कर्मचारीले गरेको काममा अविश्वास गरेका कारण यो समस्या आएको स्रोतको दाबी छ । 

करिब महिना अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द प्रसाद शर्मालाई विमानस्थलको सबै विषय हेर्नेगरी खटाइएको थियो । उनकै उपस्थितिमा भन्सार प्रशासन, प्रहरी, सिभिल एभिएसन, कार्गो व्यवसायीका प्रतिनिधिहरुबीच भएको सहमति कार्यान्वयन हुन नसकेपछि निकासी व्यापार तेस्रो दिन पनि रोकिएको हो ।बेलुकी सहमति भएकोमा कार्यान्वयन गर्ने समयमा प्रहरीले माथिको आदेश चाहिने भन्दै अवरोध गरेको जानकारी नेपाल फ्रेट फरवार्डरस एशोसिएसनका अध्यक्ष राजेन्द्र संग्रौलाले दिए । 

वार्तामा तत्कालका लागि समस्या समाधान हुनेगरी सहमति गरेकोमा फिल्डमा रहेका प्रहरीले कार्गोले गर्ने काममा पुनः विगतकै व्यवहार गरेको भनाई व्यवसायीको रहेको छ । प्रहरीले एक्स–रे मेशिनबाट जाँच गरेको मालवस्तुलाई प्याकिङ गर्न कार्गोका कर्मचारीलाई गोदाममा जान दिने कि नदिने विषय विवादको मूल जरो भएको भन्सारका कर्मचारीहरु बताउँछन् । आफूहरुले गरेको काममा प्रहरीले अनावश्यक शंका गरेको बुझाई भन्सार कर्मचारीमा रहेको छ । यही विषयमा प्रहरी र भन्सारबीच नै कुरा नमिलेको स्रोतको दाबी छ । अहिले विमानस्थल व्यवस्थापन, प्रहरी र भन्सार एकले अर्कोलाई देखाएर समस्याबाट पन्छिएको गुनासो व्यवसायीको रहेको छ ।

व्यवसायी भन्छन्,‘भन्सार कर्मचारीले जाँचपास गरेर जहाजमा लैजाने तयारी गरेको नेपाली वस्तुमाथि प्रहरीले बेलाबेलामा अनावश्यक प्रश्न उठाएर दुःख दिने गरिएको छ । कार्गो व्यवसायीको साझा संस्था फ्रेट फरवार्डरसका अध्यक्ष संग्रौला नेपालमा उत्पादन भएको गलैंचा, गार्मेन्ट, हयाण्डीक्राफ्ट, तरकारी, जडिबुटीलगायतका करोडौं मूल्यका मालवस्तु युरोप, अमेरिकालगायतका मुलुकमा निकासी गर्न प्याकिङ गरेर ‘एरबील’ बनिसकेको अवस्थामा निर्यातमा अवरोध पुर्‍याउँदा गलत सन्देश गएको बताउँछन् । दुई दिनमा मुलुक बाहिर पठाउने तयारीमा रहेको डेढ सय टन भन्दा बढी मालवस्तु विभानस्थलमा रोकिएको छ । 

केही दिनअघि एक कार्गो सञ्चालकले प्याक गरेको मालवस्तु एक्से–मेशिनमा राखेर जाँच गर्ने क्रममा प्रहरीले केही जडिबुटीसहितका मालवस्तुका विषयमा प्रश्न उठाएको थियो । सुरक्षा कमजोर भएको भन्दै हाल कार्गोका कर्मचारीको निश्चित गन्तव्यमा प्रहरीले रोक लगाएको थियो । सुन लगायतका अवैध मालवस्तु भित्रने डरले कामदारको गन्तव्यमा कडाइ गरेको भनाइ प्रहरी स्रोतको रहेको छ । सहमति भएपछि हामी काममा फर्केको अवस्थामा प्रहरीले माथिको आदेश छैन भन्दै विगतकै गतिविधि दोहोर्‍याएपछि निकासीको काम गर्न नसकेको व्यवसायीले बताए । अध्यक्ष संग्रौलाले प्रहरीले क्षेत्राधिकार मिचेर हस्तपक्षेप गरेकोले समस्या सिर्जना भएको बताए । 

‘प्रहरीले भन्सारमा हातहतियार र विमानको सुरक्षाका विषयमा मात्र आफ्नो अधिकार प्रयोग गर्न सक्छ,’ अध्यक्ष संग्रौलाले भने, ‘अहिले प्रहरीबाट निकासीको सामान बरामद गर्ने, सबै सामान खोलेर देखाउनुपर्ने, कार्गोका कर्मचारीलाई हप्कीदप्की गर्ने जस्ता क्रियाकलाप भएको छ ।’ जसको जे अधिकार हो, त्यसले त्यही गर्नुपर्ने भनाइ उनको रहेको छ । सहमति गरेको कुरामा पनि प्रहरीले आदेश खोजेर आनाकानी गरेकाले निकासी रोकिएको उनले बताए । 

विमानस्थल व्यवस्थापन, भन्सार सरकारी अधिकारी र प्रहरीको भनाइ भने फरक–फरक रहेको छ । विमास्थल सुरक्षामा खटिएका प्रमुख(एसएसपी) बसन्त रजौरेले आफूहरु कार्यक्षेत्र बाहिर नगएको दाबी गरिरहेका छन् । उनले निर्यात रोक्ने काम प्रहरीको नभएको भन्दै हातहतियार वा सुरक्षाका हिसाबले प्रतिबन्धित वस्तुको विषयमा आफूहरु संवेदनशील रहेको बताए । व्यवसायीले भने सुरक्षाको नाममा प्रहरीको ज्यादती बढेको गुनासो गरेकोप्रति एसएसपी रजौरे भन्छन्, ‘विमानस्थल व्यवस्थापनले मिलाउने काममा प्रहरी संलग्न छैन । के कसरी काम गर्ने त्यो विमानस्थल व्यवस्थापनको विषय हो । व्यवस्थापनको विषयमा आफूले उत्तर दिने नै होइन ।’ भन्सारभित्र रहेको एक्स–रे मेशिनमा प्रहरीले सामानको जाँच गर्दै आएको छ भने भन्सार आफैंले जाँच्ने मेशिन छैन । भन्सारमा थप कर्मचारी र एक्स–रे मेशिन आवश्यक रहेको एक अधिकृतले बताए । 

भन्सार कर्मचारीले निकासी भइरहेको जडिबटीसहितका केही वस्तु लैजान अनुमति दिएकोमा प्रहरीले रोकेको भनाइ व्यवसायीको रहेको छ । प्रहरीले भने सबै व्यवस्थापन मिलाउने जिम्मेवारी विमानस्थल नेतृत्वको भएको बताउँदै आएको छ । भन्सार कर्मचारी भन्छन्, ‘यो विषय सुरक्षाकर्मी र व्यवसायीबीचको विवाद हो ।’ स्रोत भन्छ, ‘यसबाट भन्सार कर्मचारी र प्रहरीबीच पनि समन्वय नभएको देखिएको छ । प्रहरीले भन्सार कर्मचारीलाई विश्वास नगरेजस्तो देखिएको छ ।’  

‘बुधबार र बिहीबार दुई दिनसम्म राती जहाज रित्तै उढेको छ । तर हामीले सामान पठाउन पाएनौं,’ कार्गो व्यवसायीले गुनासो गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले आफूहरुबीच आपसमा कुनै विषयमा असमझदारी भएकाले समस्या निम्तिएको बताए । अब समस्या छिट्टै समाधान हुने दाबी उनले गरे । उनी पनि दिनभर वार्तामा बसेका थिए । तर वार्तामा भएको सहमति कार्यान्वयन भएको थिएन । सिटौला भन्छन्, ‘प्रहरी केही कुरामा प्रष्ट गर्न चाहन्छ । त्यो कुरा शुक्रबार(आज) क्लियर हुन्छ ।’

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully