बाह्र वर्षदेखि बलेवा विमानस्थलको एक्ली हेरालु

प्राधिकरणका पोखरास्थित प्रशासनका सम्पर्क व्यक्ति सूर्यबहादुर खत्रीले सबिता पौडेलकै भरमा बलेवा विमानस्थल रहेको बताए।

श्रावण १, २०८३

प्रकाश बराल

The sole watchman at Balewa Airport for twelve years

What you should know

बागलुङ —  

बिहान उठेर उनी हतार हतार खाना पकाएर खाने, छोरालाई विद्यालय पठाउने र कार्यालय जाने उनको दैनिकी हो। जति हतार गरे पनि कार्यालयमा हाजिर गर्ने उनी एक्लै छिन्। बागलुङ नगरपालिका वडा नं १४ को बलेवा विमानस्थल उनको कार्यालय हो। २०७५ सालदेखि यो विमानस्थल सुनसान छ। कच्ची धावनमार्ग छँदा केही जहाज आउने–जाने गरेको यो विमानस्थल पक्की भएपछि रित्तै छ। कहिलेदेखि विमानस्थल चल्छ भन्ने पनि यकिन छैन।

बागलुङ नगरपालिका वडा नं१३ की सबिता पौडेल विमानस्थलको रिपिटर टावर कुरेर बसिरहेकी छिन्। आएर सरसफाइ गर्ने, हाजिरी गर्ने र फर्कने उनको दैनिकी हो। बिहान ९ बजे कार्यालय आएर साढे ४ बजे फर्कन्छिन् उनी। हरेक दिन उनले कार्यालयमा आएको जानकारी पोखरास्थित विमानस्थल कार्यालयलाई गराउँछिन्।

पोखराबाट मासिक एक पटक अनुगमन टोली पनि आउँछ। उनले भनिन्, 'बलेवा एयरपोर्टको अवस्था, घेराबारको सुरक्षा प्रबन्ध कस्तो छ, अनुगमन गरेर फर्कने गरेको छ। एयरपोर्ट सञ्चालन हुँदो हो यहाँ धेरै काम हुन्थ्यो। यात्रीको सामग्री परीक्षण, अन्य कर्मचारी समेत हुँदा दैनिक कार्यालय सञ्चालन र प्रशासनिक काम पनि आइलाग्थ्यो। तर अहिले केही छैन।'  सरकारी कार्यालयको सामान्य चिठी पत्र आयो भने उनले पोखरा पठाइदिन्छिन्। तत्कालको सूचना भए पोखरा कार्यालयका सूर्यबहादुर खत्रीलाई खबर गरिदिन्छिन्।

उनी कार्यालय सहयोगी हुन्। मासिक २२ हजार तलब पाउँछिन्। पछिल्लो १२ वर्षदेखि उनी यहाँ एक्लै छिन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई २०७० सालमा नियुक्ति दिएको हो। त्यसअघि स्थानीय हिराकुमारी पौडेल थिइन्। उनी उमेर हदले निवृत्त भइन्।

प्राधिकरणका पोखरास्थित प्रशासनका सम्पर्क व्यक्ति सूर्यबहादुर खत्रीले सबिता पौडेलकै भरमा बलेवा विमानस्थल रहेको बताए। ‘बिजुली, पानीको पैसा तिर्ने, दैनिक प्रशासन र रिपोर्टिङ पनि उहाँले नै गर्नुभएको छ,’ खत्रीले भने, ‘सरकारसँग साना जहाजको अभाव छ। निजी क्षेत्रले चाहेको खण्डमा सुरक्षा प्रबन्ध गरेर चलाउन सहयोग गर्न सकिन्थ्यो।’ 

कालोपत्र गरेकोले विमानस्थल आकर्षक छ। त्यसैले बलेवा एयरपोर्ट हेर्न दैनिक जसो कोही न कोही आइपुग्छन्। उनीहरू भित्र मैदानसम्म पुगेर फोटो खिच्न खोज्छन्। पौडेलले सुरक्षा सतर्कता अपनाएर जाने अनुमति दिन्छिन्। जहाज नचलेपछि मैदान जीर्णजस्तो भइसकेको छ। घेराबारमा खिया लागेको छ। बेलाबेला अपरिचित व्यक्तिले तारबार भत्काउने प्रयास गर्छन्। त्यो दैनिक रेखदेख गरेर मर्मत गर्ने काम पनि उनले गरिरहेको बताइन्। स्थानीयले भने हवाई सम्बन्धी तालिम केन्द्र वा अन्य केही कार्यक्रम सञ्चालन गरेर यो विमानस्थललाई अद्यावधिक गराउन माग गरेका छन्।

२०७४ सालमा बागलुङ नगरपालिकाले सम्झौता गरेर नेपाल एयरलाइन्स र तारा एयरलाइन्सका जहाज सञ्चालन गरेको थियो। खाली भएका सिटको क्षतिपूर्ति दिने गरी नगरपालिकाले हवाई कम्पनीसँग सम्झौता गरेकोमा एक वर्षमा २० लाख नोक्सानी भयो। उक्त रकम बेरुजुमा समेत देखिएपछि नगरपालिकाले सम्झौता नवीकरण गरेन। त्यसपछि जहाज पनि आउन छाडे। जहाज चलुन्जेल नगरपालिकाले दुई जना कर्मचारी र एक सुरक्षाकर्मी समेत यहाँ खटाएको थियो।

‘काष्ठमण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनी’ले २०७८ को वैशाखमा ८ करोड २४ लाख ३४ हजार रुपैयाँको लागतमा बलेवा विमानस्थल कालोपत्रे गरेको थियो। अन्दाजी ७ सय मिटर लम्बाइको मैदान कालोपत्रेसहित १ हजार १ सय मिटर लामो मैदान ग्राभेल गरिएको छ। ३० मिटर चौडा मैदान तारबारले घेरिएको छ। टर्मिनल भवन मर्मत गरेर रङरोगन समेत लगाएपछि जहाज उडाउने पहल भने नभएको हो।

२०२२ देखि २०४९ सालसम्म यो विमानस्थल चल्तीको थियो। भैरहवा, पोखरा र काठमाडौँबाट जहाज चल्थे। बागलुङ, पर्वत र म्याग्दीका जनताले राजधानी जानु परेमा वा भैरहवाबाट दैनिक उपभोग्य सामग्री ल्याउन पनि जहाजको उपयोग गर्थे। हिँडेर जाँदा ४ देखि ५ दिनसम्म लाग्ने भएकाले भैरहवाका लागि बढी चल्तीको विमानस्थल थियो।

कच्ची धावनमार्ग भए पनि धुलो उडाउँदै जहाज उड्थे। त्यति बेला विमानस्थल खुला थियो। स्थानीयले श्रमदान गरेर यो विमानस्थल बनाएको वडा अध्यक्ष चक्रबहादुर खत्री सम्झन्छन्। ‘त्यति बेला त जहाज चढ्न सिडिओको फोर्स चल्थ्यो, अहिले त जहाजै चल्दैन,’ उनले भने, ‘यतिको संरचना बनिसकेकोले सातामा एक–दुई वटा भए पनि जहाज चलाउन सके राम्रो हुने थियो।’ बनेका संरचनाको सुरक्षाका लागि पनि मैदान नियमित उपयोग हुनुपर्ने उनले बताए।

सदरमुकामदेखि बलेवा विमानस्थलसम्मको कालीगण्डकी करिडोरको १० किमि खण्ड कालोपत्रे तयारीमा छ। ठेकेदारले म्याद थपेर पनि काम नसकेपछि सहजै यहाँ पुग्न कठिन छ। सडक सहज भएमा जहाज चलाउन पहल गर्ने बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully