सदर चिडियाखाना शुक्रबारदेखि खुल्ने

गिद्ध, लाटोकोसेरो, हाँसलगायत दुर्लभ चराका साथै जङ्गली बिरालो र चरिबाघमा बर्डफ्लु पुष्टि भएपछि ५ असारदेखि बन्द गरिएको चिडियाखाना वातावरणीय नमुनामा संक्रमण नदेखिएपछि शुक्रबारदेखि सर्वसाधारणका लागि पुनः खुलाउन लागिएको हो

असार ३२, २०८३

अर्जुन पौडेल

Sadar Zoo to open from Friday

What you should know

काठमाडौं — जावलाखेलस्थित सदर चिडियाखाना भोलिदेखि सर्वसाधारणका लागि पुनः खुल्ने भएको छ । वातावरणीय नमुनामा परीक्षणमा एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) भाइरस नदेखिएपछि शुक्रबारदेखि चिडियाखाना खोल्न लागिएको हो ।

पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायत निकायका वरिष्ठ अधिकारीहरूको बिहीबार बसेको उच्चस्तरीय बैठकले चिडियाखाना पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

'हामीले शुक्रबारदेखि चिडियाखाना खुला गर्ने निर्णय गरेका छौँ,' केन्द्रीय चिडियाखानाका प्रवक्ता गणेश कोइरालाले भने, 'चिडियाखाना परिसरबाट संकलन गरिएका वातावरणीय नमुनाको प्रयोगशाला परीक्षणमा बर्डफ्लु भाइरस नदेखिएको पुष्टि भएको छ ।'

गिद्ध, लाटोकोसेरो, हाँसलगायत दुर्लभ चराका साथै चिडियाखानामा राखिएका जङ्गली बिरालो र चरिबाघमा बर्डफ्लु पुष्टि भएपछि ५ असारदेखि चिडियाखाना बन्द गरिएको थियो । मरेका चराबाट सङ्कलन गरिएका नमुनामा एभियन इन्फ्लुएन्जा ए (एच फाइभ एन वान) भाइरस पुष्टि भएको थियो ।

संक्रमणका कारण दर्जनौँ  चराहरू मरेका थिए । घटनालाई लुकाउने प्रयास गरेको आरोप पनि चिडियाखाना प्रशासनमाथि लागेको थियो भने घटनाको छानबिन गर्न गठन गरिएको समितिले आफ्नो प्रतिवेदन तयार गरिरहेको छ ।

कोइरालाका अनुसार चिडियाखाना हेर्न आउनेहरूको सुरक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको छ । विशेषज्ञ टोलीको सिफारिसपछि चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो । यसअघि चिडियाखाना परिसरबाट सङ्कलन गरिएका विभिन्न वातावरणीय नमुनाका साथै मरेका कागका नमुनासमेत पटक पटक परीक्षण गरिएको थियो । 

अधिकारीहरूका अनुसार चिडियाखाना बन्द हुँदा करिब ३ करोड रुपैयाँ बराबरको राजस्व घाटा भएको छ । सामान्यतया चिडियाखानामा कार्यदिवसमा दैनिक करिब २ हजार र सार्वजनिक बिदाका दिन ५ हजारसम्म आगन्तुक आउने गर्छन् ।

केन्द्रीय चिडियाखानामा हिउँचितुवा, चिम्पाञ्जीलगायत लोपोन्मुख प्रजातिसहित १०० भन्दा बढी प्रजातिका करिब १३०० जनावर छन् ।  चिडियाखाना वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्रका रूपमा पनि सञ्चालन हुँदै आएको छ ।

यसैबीच, पशु सेवा विभागले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा बर्डफ्लुको संक्रमण फैलिने क्रम क्रमश: कम हुँदै गएको जनाएको छ ।

'बुधबारयता नयाँ संक्रमण पुष्टि भएको छैन,' पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले भने, 'यसले भाइरसको संक्रमण कम हुँदै गएको देखाउँछ ।'

हालै काठमाडौं उपत्यकाका ३ जिल्ला र काभ्रेपलाञ्चोकका गरी ११९ वटा कुखुरापालन फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।

अधिकारीहरूका अनुसार गत चैतको मध्ययतादेखि संक्रमण पुष्टि भएपछि ८ लाखभन्दा बढी कुखुरा र हाँस नष्ट गरिएको छ । हालसम्म देशका ११ जिल्लाका पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भइसकेको छ । संक्रमित फार्मबाट करिब १३ लाख अण्डा र करिब ३ लाख किलोग्राम दाना पनि नष्ट गरिएको छ ।

नेपालमा पहिलो पटक सन् २००९ को जनवरीमा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो । त्यसयता प्रायः प्रत्येक वर्ष संक्रमण देखिँदै आएको छ, जसका कारण लाखौँ चराचुरुङ्गी र ठूलो परिमाणमा पोल्ट्रीजन्य उत्पादन नष्ट गर्नुपरेको छ । पर्याप्त क्षतिपूर्ति नपाएपछि धेरै किसानले कुखुरापालन व्यवसाय नै छाडेका छन् ।

नेपालमा बर्ड फ्लुबाट पहिलो मानव मृत्यु सन् २०१९ मा पुष्टि भएको थियो ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Link copied successfully