प्रधानमन्त्रीसमक्ष ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलको प्रतिवेदन पेस

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज आफ्नो प्रतिवेदन पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

असार ३२, २०८३

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ । 

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज आफ्नो प्रतिवेदन पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

विसं २०८२ चैत १३ गते गठित सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूचीको बुँदा नं ४ मा ‘देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधनसम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात दिनभित्र ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने’ उल्लेख छ । 

सोही अनुसार २०८२ चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यदल गठन गरेको थियो । कार्यदलले २०८२ चैत २५ गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्यादभित्र अर्थात् आज आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले २२ वटा औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको थियो । त्यस क्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतृत्व, संविधानविद्, कानुनविद्, पूर्वन्यायाधीश, पूर्वमहान्यायाधिवक्ता, पूर्वकानुन सचिव, पूर्वप्रशासक, विभिन्न क्षेत्रमा क्रियाशिल महिला, सञ्चारकर्मी र निजी क्षेत्रका प्रतिनिधिसहित १८४ विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष छलफल गरेको थियो । 

साथै संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय, प्रदेश तथा स्थानीय सरकार, नेपाल बार एशोसिएसन, विभिन्न धार्मिक सङ्घसंस्थालगायत १५० भन्दाबढी सङ्घसंस्थासँग लिखित सुझाव माग गरिएको थियो । आमनागरिकको सुझावका लागि वेबसाइटमा सूचना प्रकाशन गरिएकामा स्वदेश तथा विदेशमा रहेका नेपालीबाट इमेल र ह्वाट्सएपमार्फत कुल ४४ हजार ६१३ डिजिटल सुझाव प्राप्त भएका थिए । टेलिफोन र अन्य विद्युतीय माध्यमबाट पनि सुझावहरू संकलन गरिएको थियो । 

नेपालको संविधान निर्माणका ऐतिहासिक दस्तावेज, संविधानसभाका समितिका प्रतिवेदन, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यास र नजिरहरूको अध्ययन गरी प्राप्त सुझावलाई विभिन्न २० वटा विषय क्षेत्रमा वर्गीकरण गरेर कार्यकारी सारांशसहितको प्रतिवेदन तयार गरिएको छ । 

कान्तिपुर

Link copied successfully