विशेष सरकारी वकिल कार्यालयले उनीविरुद्ध विहिबार विशेष अदालतलमा मुद्दा दायर गरेको हो
काठमाडौं — पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
विशेष सरकारी वकिल कार्यालयले बिहीबार उनीविरुद्ध विशेष अदालतलमा मुद्दा दायर गरेको हो । पौडेलको हकमा २० करोड ९० लाख बिगो कायम गरिएको छ भने बैंक खातामा रहेको ६ लाख ३४ हजार जफत गर्न भनिएको छ ।
यसअघि दर्ता भएको प्रतिवादी दिपक भट्ट समेतको मुद्दामा थप अनुसन्धान गरी पुरक आरोपपत्र दायर भएको हो । जसमा पौडेलसहित ६ जना र १० कम्पनी गरी १६ जनालाई प्रतिवादी बनाइएको विशेष अदालतले जनाएको छ ।
पौडेललाई २५ दिनदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिरासतमा राखेर अनुसन्धान गरेको छ । ८ असारमा पार्टी कामको सिलसिलामा सुर्खेत पुगेका उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको थियो । सम्पत्ति शुद्धीकरणकै कसुरमा पुर्पक्षका लागि थुनामा रहेका व्यापारी दिपक भट्टसँगको मिलेमतोमा आर्थिक अनियमितता गरेको आरोपमा विभागले अनुसन्धान अघि बढाएको थियो । भट्टलगायतलाई गैरकानुनी सम्पत्ति लुकाउन एवं छल्ने वातावरण निर्माण गरिदिइ सम्पत्ति शुद्धीकरण कसुरमा मतियारको कार्य गरेको आरोप पौडेलमाथि लगाइएको छ ।
सम्पत्ति जफत प्रयोजनार्थ भट्ट, ऋषिराज मोर, सुलभ अग्रवाल, शुभी अग्रवाल, उपेश बस्नेतविरुद्ध पुरक मुद्दा दायर भएको छ । यसअघि २८ जेठमा भट्टसहितलाई सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो ।
