उकुसमुकुसमा मिटरब्याजपीडितको बसाइ

सयौं महिला र पुरुष आन्दोलनकारी एउटै हलमा कोचाकोच भएर बसेका छन् ।

असार ३२, २०८३

लक्ष्मी साह

Meter bill victim's stay in Ukusmukus

What you should know

बारा — रोपाइँको बेला छ । अहिले आफ्नै खेतबारीमा रोपाइँमा व्यस्त हुनुपर्ने समय हो । जसको खेतबारी छैन, तिनीहरूलाई पनि मेलापातको चटारो लाग्छ । तर, ती सबै छाडेर अहिले मिटरब्याजपीडितहरू आन्दोलित बनेका छन् ।

तिनीहरू रोपाईं बिर्सेर आन्दोलनमा व्यस्त हुँदै चार दिनदेखि निजगढमा बसेका हुन् । गएको सोमबारदेखि उनीहरू यहीँ छन् । रोपाइँ छाडेर सातादेखि आन्दोलित हुँदै घर–परिवार छाडेर बसेका उनीहरूको मन भने खुसी देखिँदैन । एकातिर खेतीपातीको चटारो र अर्कोतिर सरकारले माग पूरा गर्ला कि नगर्ला भन्ने चिन्ताले उनीहरूलाई सताइरहेको छ । कतिपयलाई खेतीपातीको चटारोले छोए पनि त्यसको परवाह नगरी आन्दोलित भइरहेका छन् । कतिपय आन्दोलनकारी भने धान रापाइँको हतार भएर घर फर्केका छन् । 

झन्डै २ सय आन्दोलनकारी अहिले निजगढमा बसेका छन् । असार २५ गतेदेखि पैदल यात्रा गर्दै मधेश प्रदेशका ८ जिल्लाका ४ जिल्ला कटेर पाँचौं जिल्ला बाराको निजगढमा चार दिनदेखि उनीहरू बसेका हुन् । उनीहरूको गन्तव्य थियो– काठमाडौंसम्म पैदल पुगेर सरकारलाई आफ्ना समस्या सुनाउने । तर गृहमन्त्री सुधन गुरुङ गत मंगलबार नै राजधानी काठमाडौंको प्रशासनिक केन्द्र सिंहदरबार छाडेर सुटुक्क निजगढ आइपुगे । त्यही भएर आन्दोलनकारीहरू गन्तव्यमा नपुग्दै गत सोमबार रातीदेखि निजगढको उद्योग वाणिज्य संघको सभा हलमा उकुसमुकुस गरेर रात र दिन गुजारिरहेका छन् । Meter bill victim's stay in Ukusmukus

त्यहाँ ३ वटा साना  शौचालय छन् । एउटा सानो जस्ताले छाएको ट्रस्ट छ, त्यसमा खाना पकाउँदै खाँदै बसेका छन् । बिजुलीबत्तीसहित पंखाहरूको सुविधा छ । त्यसैलाई प्रयोग गरी सयौं महिला र पुरुष आन्दोलनकारी भुईंमा सुतेर रात र दिन काटेका छन् । सबै आन्दोलनकारी एउटै हलमा कोचाकोच भएर बसेका छन् । सामूहिक खाना पकाउँदै खाएका छन् । सरकारविरुद्ध नारा घन्काएका छन् । दुई दिन झन्डै १० घण्टा तिनीहरूसित बिताएका गृहमन्त्री गुरुङलाई आफ्ना पीडा सुनाउँदै बसे ।

सरकारसित वार्ता गर्ने भनेर मन्त्री गुरुङको साथमा गएका आन्दोलन समितिका अध्यक्ष अवधेश कुसवाहसहित ६ सदस्यीय टोली काठमाडौं गए पनि सरकारले आफ्ना ६ बुँदे माग सम्बोधन गर्ने आशमा आफ्ना पक्षका वार्ता टोलीलाई बिदाइ गर्दै अहिले पनि कतिपय पीडित यहीं बसेको निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार पहिला पनि तिनीहरू मार्च पासका क्रममा यहीँ बसेका थिए ।

‘खेतीपाती छाडेर उकुसमुकुस भएर बसेका छौं,’ बारा देवताल गाउँपालिका–४ पिप्राढीका भैरो रामले भने, ‘बस्ने खाने, नित्यकर्म गर्न साह्रै कठिनाइ सहेर बसेका छौं । पटक–पटक आन्दोलन गर्दै थाकिसक्यौं । यसपालि सरकारसित वार्ता गरेर हाम्रो माग पूरा हुने आशा गरेका छौं ।’ पटक–पटक आन्दोलन गर्दा थाकेका उनले भने, ‘खुसी भन्दा पनि धान रोपाइँको चिन्ता बढी छ ।’ 

अघिल्लो वर्ष पनि पीडितहरू पैदल मार्चका क्रममा यही उद्योग वाणिज्य संघको हलमा बसेका थिए । मिटरब्याजपीडितहरूले फर्जी लिखत खारेज, मिटरब्याजविरुद्ध शक्तिशाली विशेष ऐन निर्माण, मिटरब्याजविरुद्ध प्राधिकरण गठन, सुदखोरको सम्पत्ति छानबिन, पीडितको सम्पत्ति फिर्ता र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित हुनुपर्ने माग गर्दै आन्दोलित भएका छन् ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully