अदालतले १ करोड ५४ लाख २५ हजार २ सय जरिवाना भराउने फैसला पनि सुनाएको छ
काठमाडौं — विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा साढे ८ वर्ष कैदको फैसला सुनाएको छ ।
विशेष अदालतका न्यायाधीशहरू सुर्दशनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सजाय निर्धारण गर्दै अकुत सम्पत्ति आर्जनमा ८ वर्ष र कार्यकारी पदमा रहेको रुपमा थप ६ महिना कैदको फैसला सुनाएको हो ।
विशेषले १ करोड ५४ लाख २५ हजार २ सय जरिवाना भराउने फैसला पनि सुनाएको छ । त्यसैगरी अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ (३) बमोजिम जनही ६ लाख १७ हजार असुल गरी पीडित राहत कोषमा जम्मा गर्ने समेत ठहर विशेषले गरेको छ । पौडेलसँगै विशेषले दीपक आनन्दलाई पनि सोही बराबर कैद र जरिवाना हुने निर्णय सुनाएको छ । उनले पौडेलले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने कार्य गरेका थिए ।
मंगलबार पौडेल दोषी ठहर भएका थिए भने सजाय निर्धारण विहिबारमात्र गरेको हो । मंगलबार विशेषले घुसको मुद्दासहित साढे १५ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको थियो । घुस लेनदेनमा विशेषले सोही दिन साढे २ वर्ष कैदको फैसला पनि सुनाएको थियो । विशेषले घुस मुद्दामा १२ करोड ७५ लाख ७० हजार ठहर गरेको थियो ।
दुवै मुद्दामा सुनिल पौडेलले सिंगापुरस्थित विभिन्न बैंकबाट आर्थिक कारोबार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।
अख्तियारले पौडेलको घरबाट उपकरण बरामद गर्ने क्रममा सिंगापुरबाट कारोबार भएको विवरण खुलेपछि अकुत सम्पत्तिसँगै घुसको पनि अभियोगपत्र पेस गरेको थियो । सिंगापुर बैंकमै रकम लुकाएको आरोपमा उनी गैरकानुनी सम्पत्तिआर्जनको मुद्दामा समेत दोषी ठहर भएका हुन् ।
गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा यति ठूलो बिगो ठहर कमै मात्र मुद्दामा हुने गर्दछ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक समेत भइसकेका पौडेललाई १२ करोड ७५ लाख रुपैयाँ बिगो र त्यति नै रकम जरिवाना हुने फैसलामा भनिएको छ । त्यस्तै पौडेलले पीडित राहत कोषमा ५१ लाख रुपैयाँ समेत जम्मा गर्नुपर्नेछ ।
पौडेलले १४ करोड ९७ लाख रुपैयाँ अवैध रुपमा आर्जन गरेको र अन्य सम्पत्तिको स्रोत नखुलेको विशेषको फैसलामा उल्लेख छ।
सिंगापुरस्थित आधिकारिक निकायबाट प्राप्त पत्र एवं इलेक्ट्रोनिक्स डिभाइसको फरेन्सिक प्रतिवेदनका आधारमा सुनिल पौडेलले सिंगापुरमा बैंक खाता खोलेको समर्थित हुने देखिएको थियो । सिंगापुरमा रहेको उनको खातामा १३ करोड ५३ लाख रुपैयाँ बराबरको विदेशी रकम डिपोजिट रहेको फेला परेको थियो ।
