पक्राउ पुर्जी जारी भएका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख उपरिक्षक मनोहर भट्टले बताए ।
कपिलवस्तु — ज्यान मार्ने उद्योगमा प्रतिनिधि सभा सदस्य अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीले जिल्ला अदालतबाट दुवै जनालाई पक्राउ गरी अनुसन्धान गर्न आवश्यक परेको माग गरेकाले अदालतले अनुमति दिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
यी दुई जनाविरुद्ध कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश)ले ज्यान मार्ने उद्योगमा मंगलबार प्रहरीमा जाहेरी दिएका थिए । अभिषेक कपिलवस्तु–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
उता कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्माविरुद्ध परेको आपराधिक उपद्रव अभियोगमा उनीलगायत ७ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । शर्माविरुद्ध कृष्णनगर नगरपालिकाका–९, बहादुरगन्जका वैभवप्रताप शाहले आपराधिक उपद्रव अभियोगमा जाहेरी दिएका थिए ।
दुवै पक्षको जाहेरी बिहीबार दर्ता भएर पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख उपरिक्षक मनोहर भट्टले बताए ।
शाह र शर्मा समूहबीच दुई ठाउँमा आइतबार झगडा र कुटपिट भएको थियो ।
