मिटरब्याजीविरुद्ध किसान-मजदुर आन्दोलन केन्द्रीय समितिले सरकारसँग वार्ताका लागि ३ वटा बटम लाइन अघि सारेको छ ।
बारा — ३ दिनदेखि जारी वार्तालाई निष्कर्षमा पुर्याउन मिटरब्याज पीडितले बनाएको वार्ता टोलीका प्रतिनिधिहरू काठमाडौं आउने भएका छन् । वार्ता टोलीका एक सदस्य एवं संयुक्त जनअधिकार नेपालका अध्यक्ष निर्ग नविनले आफुहरू वार्ताका लागि काठमाडौं जान सिमरास्थित विमानस्थल पुगिसकेको बताए ।
उनले यसबीचमा ४ चरणको वार्ता भएको र अब निर्णायक चरणमा पुगेको बताएका छन् । उनले भने, 'झण्डै चार चरणका वार्ताहरू भए । ती वार्ताका क्रममा सरकार मिटरब्याज प्रथाको उन्मूलन, विशेष एन र विशेष अदालत गठन गर्न तयार भएपछि वार्ता निर्णायक चरणमा पुगेको हो । आज हामी औपचारिक हस्ताक्षरका लागि मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका अध्यक्ष अवधेश कुसवाहको पाँच जनाको वार्ता टोली बनाएका छौं ।'
मिटरब्याजीविरुद्ध किसान-मजदुर आन्दोलन केन्द्रीय समितिले सरकारसँग वार्ताका लागि ३ वटा बटम लाइन अघि सारेको छ । समितिका अध्यक्ष अवधेश कुसवाहाको अध्यक्षतामा सरकारसँग वार्ता गर्न ६ सदस्यीय वार्ता समिति बनाइए पनि सरकारका तर्फबाट भने समिति अझै बनेको छैन ।
