घुस मुद्दामा सुनिल पौडेल दोषी ठहर,   साढे १५ करोड बिगो र जरिवाना

विशेष अदालतले मंगलबार पौडेललाई साढे १५ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो

असार ३१, २०८३

दुर्गा दुलाल

Sunil Poudel found guilty in bribery case, fined Rs 15.5 crore

काठमाडौं — विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस मुद्दामा दोषी ठहर गरेको छ ।मंगलबार विशेष अदालतले पौडेललाई साढे १५ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो । 

गैरकानुनी सम्पत्तिआर्जनको मुद्दामा न्यायाधीशहरू सुर्दशनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले  साढे २ वर्ष कैदको फैसला पनि सुनाएको हो । अकुत सम्पत्ति आर्जनमा २ र पदीय जिम्मेवारीका कारण थप ६ महिना कैदको फैसला विशेषले सुनाएको हो । 

पौडेललाई अकुत सम्पत्ति आर्जन र घुस गरी दुई मुद्दामा दोषी ठहर गरेको हो । अकुत सम्पत्तिसम्बन्धी मुद्दामा १२ करोड ७५ लाख ७० हजार, घुसमा ३ करोड ८ लाख ५० हजार र घुससम्बन्धी अर्को मुद्दामा सजाय निर्धारण हुन बाँकी छ । दुवै मुद्दामा उनले साढे १५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर  विशेषले गरेको हो । 

दुवै मुद्दामा सुनिल पौडेलले सिंगापुरस्थित विभिन्न बैंकबाट आर्थिक कारोबार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो । 

अख्तियारले पौडेलको घरबाट उपकरण बरामद गर्ने क्रममा सिंगापुरबाट कारोबार भएको विवरण खुलेपछि अकुत सम्पत्तिसँगै घुसमा पनि अभियोगपत्र पेस गरेको थियो । सिंगापुर बैंकमै रकम लुकाएको आरोपमा उनी गैरकानुनी सम्पत्तिआर्जनको मुद्दामा समेत दोषी ठहर भएका हुन् ।

विशेष अदालतले १२ करोड ७५ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहितको पहिलो मुद्दामा पौडेललाई दोषी ठहर गर्दै दुई वर्षको कैद सजाय गरेको हो । 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक समेत भइसकेका पौडेललाई १२ करोड ७५ लाख रुपैयाँ बिगो र त्यति नै रकम जरिवाना हुने फैसलामा भनिएको छ । त्यस्तै पौडेलले पीडित राहत कोषमा ५१ लाख रुपैयाँ समेत जम्मा गर्नु पर्नेछ ।

पौडेलले १४ करोड ९७ लाख रुपैयाँ अवैध रुपमा आर्जन गरेको र अन्य सम्पत्तिको स्रोत नखुलेको  विशेषको फैसलामा उल्लेख छ । 

सिंगापुरस्थित आधिकारिक निकायबाट प्राप्त पत्र एवं इलेक्ट्रोनिक्स डिभाइसको फरेन्सिक प्रतिवेदनका आधारमा सुनिल पौडेलले सिंगापुरमा बैंक खाता खोलेको समर्थित हुने देखिएको थियो । 

सिंगापुरमा रहेको उनको खातामा १३ करोड ५३ लाख रुपैयाँ बराबरको विदेशी रकम डिपोजिट पाइएको थियो ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully