‘स्यान्डबिच’ जस्तो भू–संरचनाका कारण सिद्धबाबामा पहिरो दोहोरिने भएकाले सुरुङभन्दा रकसेड नै प्रभावकारी र किफायती विकल्प हुने भूगर्भविद्को सुझाव छ ।
पाल्पा —
सिद्धबाबा क्षेत्रमा हरेक वर्ष नयाँ नयाँ स्थानबाट पहिरो खस्ने समस्याले यात्रु तथा चालकले हैरानी खेप्दै आएका छन् । तर यसरी किन पहिरो खस्छ भनेर अहिलेसम्म सडक विभाग र जिल्लास्थित सडक डिभिजनले अध्ययन गरेको छैन । नयाँ स्थानबाट पहिरो खस्दा कतिपय सवारी साधन पहिरोमा पुरिने, बगाउने र मानवीय क्षतिसमेत हुने गरेको छ । वर्षा होस् वा हिउँद याम, जहिलेसुकै सवारी साधन चालक तथा यात्रु ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् ।
हिउँद होस् या बर्खा सिद्धबाबा क्षेत्रमा किन यस्तो समस्या आएको हो त? भूगर्भविद् तथा सडक विभागका कन्सल्टेन्ट इन्जिनियर मधुसुधन आचार्यका अनुसार राजमार्गको झुम्सादेखि चिडियाखोलासम्मको करिब ८ किलोमिटर क्षेत्रमा कमजोर भूबनोट छ । त्यही कमजोर भूभागमा ‘स्यान्डबिच’ जस्तो ढुंगा र भीर भएकाले ‘रक सेड’ नै पहिरो रोक्ने उत्तम विकल्प भएको इन्जिनियर आचार्यको भनाइ छ । 'सुरुङ निर्माण वा रक सेड नै यस्तो क्षेत्रका लागि विकल्प हो,' उनले भने, ‘सिद्धबाबा क्षेत्रमा एक थरी बलियो रक (चट्टान) छ । अर्को थरी कमजोर रक रहेकाले दुवै थरीको बीचमा अर्को कमलो माटो तथा स्यान्ड रक रहेको छ ।’
उनका अनुसार सिद्धबाबा क्षेत्रमा हरेक वर्ष भूगर्भविद् तथा पढ्दै गरेका विद्यार्थीले अध्ययन गर्दै आएका छन् । त्यसैले सरकारले यस क्षेत्रको अध्ययन नगरे पनि अन्य क्षेत्रबाट अध्ययन भएको छ । सिद्धबाबा क्षेत्रमा रहेका धेरै थरीको चट्टानमध्ये कमजोर र बलियो सँगै रहेको उनले बताए ।
कतिपय चट्टानलाई पानीले खाइदिन्छ । ठूलो पानी पर्दा भेलसँगै बगेर मैलो माटो बनेर बग्ने गरेको इन्जिनियर आचार्यले बताए । दोभान बजारदेखि तल्लो सिद्धबाबा नजिकै चिडियाखोलासम्म पुरै रक सेड बनाउने हो भने केही सुरक्षित यात्रा गर्न सकिने उनको सुझाव छ । ‘टनेल बनिरहेको छ । त्यसले पनि केही क्षेत्र सुरक्षित बनाउनेछ,’ उनले भने, ‘त्यसबाहेकको सबै क्षेत्रमा रक सेड नै उपयुक्त हुन्छ । महँगो प्रविधिभन्दा सस्तो प्रविधितर्फ सरकारले ध्यान दिनुपर्ने हो ।’
पहिरो खस्ने र पत्तै नपाई ढुंगा खस्ने क्षेत्र पहिचान गर्नका लागि अध्ययनको जरुरी रहेको उनले बताए । त्यस्ता क्षेत्रमा रक नेटभन्दा रक सेड नै विकल्प भएको आचार्यले बताए । उनका अनुसार रक नेट गर्दा धेरै क्षेत्रमा गर्न समस्या पनि हुन्छ । तर रक सेड बनायो भने धेरै ठूलो वा पहाडै खस्ने गरी पहिरो आएन भने सुरक्षित नै हुने उनले बताए ।
सरकारले सडक बन्द नहुँदासम्म र मानवीय क्षति नहुँदासम्म विज्ञको सुझाव नसुन्ने गुनासो पनि उनको छ । काम गर्न पैसाकै अभाव छ । राजमार्गको चर्चरे र भूतखोलामा साथै २४ माइल र २० माइल क्षेत्रमा काम गर्न पैसा अभाव भएको सडक डिभिजन पाल्पाका प्रमुख रामपुकार जयसवालले बताए ।
उनका अनुसार स्थानीय तहले खन्ने सडकका कारण हरेक वर्ष नयाँ स्थानमा पहिरो खस्ने समस्या बढेको छ । स्थानीय बासिन्दाका साथै स्थानीय तहले खनेका सडकको भल व्यवस्थापन गर्न सचेतनाको जरुरी रहेको उनले बताए ।
‘जुन रूपले पानी आफ्नो बाटोमा बग्न पाउँदैन, त्यसपछि नयाँ स्थानमा पानी बग्छ,’ उनले भने, ‘त्यसैबाट पहिरो खस्ने समस्या आएको छ । माथिल्लो भेगमा पानी बग्ने समस्या हो । यसका लागि सबै सचेत हुनुपर्छ ।’ योजनाबिनै खनेका सडकका कारण राजमार्गले क्षति भोग्नुपरेको विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए ।
आचार्यकै अध्ययन र सिफारिसअनुसार ३ करोड ८५ लाख आवश्यक बजेट माग गर्दा नपाएपछि १ करोड ६५ लाख बजेट प्राप्त भएर सोहीअनुसारको काम गरेको उनले बताए । राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५, हिउँदेखोलामा झन्डै ५० मिटर सडक भासिएर यातायात अवरुद्ध भएपछि भूगर्भविद् आचार्य आएर अध्ययन गरेका थिए ।
उनैको सुझावअनुसार काम गरेकाले अहिले समाधान भएको छ । हिउँदेखोलामा सडकको तल्लो भागमा पानी जमेको र त्यसलाई होरिजन्टल ड्रिलिङ गरेर सडकभित्रबाट पानी निकाल्ने व्यवस्था गर्न सुझाव दिएका थिए । सडक विभागले खटाएको विज्ञको प्रतिवेदनका आधारमा दिगो समाधान हुने गरी सडक डिभिजनले कामको ठेक्का लगाएको थियो । जमिनको एक्स–रे गरेर पत्ता लागेअनुसार नै रोकथामका काम अघि बढाएको थियो ।
कन्सल्टेन्ट इन्जिनियर आचार्यले गरेको अध्ययनबाट निस्किएको निष्कर्षका आधारमा नै लागत इस्ट्मेट गरी ठेक्का लगाई काम सुरु गरेपछि अहिले समाधान भएको सडक डिभिजन पाल्पाका प्रमुख रामपुकार जयसवालले बताए ।
सडक भासिएपछि कन्सल्टेन्ट इन्जिनियर आचार्यले हिउँदेखोलामा जमिनमुनिबाट पानी बगिरहेको र त्यही पानीलाई ड्रिलिङ गरेर निकाल्नुपर्ने सुझाव दिएका थिए । उनले गोरखालगायतका स्थानमा पनि यस्तै अवस्था रहेको र समस्या समाधान भएको बताएका थिए ।
त्यसपछि मात्र अन्य काम गरी माथिल्लो भागमा सडक निर्माण गर्नुपर्ने बताएका थिए । हिउँदेखोलामा ग्याबियन जाली, टेवा पर्खाल, नाली निर्माण, बायो इन्जिनियरिङका साथै सब–बेस कार्य गर्ने सुझाव कन्सल्टेन्ट इन्जिनियर आचार्यको थियो ।
