लामो दूरी हिँडेर न्यायको मागसहित राजधानीतर्फ प्रस्थान गरेका पीडित वार्ताको आशामा निजगढमै रोकिएका छन्।
निजगढ — न्यायको माग गर्दै असार २५ गते जनकपुरबाट पैदल यात्रा सुरु गरी काठमाडौँतर्फ हिँडेका मिटरब्याजपीडित दुई दिनदेखि बाराको निजगढमा रोकिएका छन्। गृहमन्त्री सुधन गुरुङसँग वार्ता हुने भएपछि उनीहरूले यात्रा स्थगित गरेका हुन्।
पीडितहरूले ६ बुँदे माग अघि सारेपछि मंगलबारदेखि निजगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा वार्ता जारी छ। मंगलबार रातिसम्म पनि सहमति हुन नसकेपछि बुधबार दिउँसो १२ बजे पुनः वार्ता बस्ने तय गरिएको थियो। तर समाचार तयार पार्दासम्म गृहमन्त्री वार्तास्थल पुगेका छैनन्।
'हामी गृहमन्त्रीकै प्रतीक्षामा छौँ,' मार्च यात्राकी अभियन्ता जिन्जी लक्ष्मी घिमिरेले भनिन्, 'आज १२ बजेदेखि वार्ता बस्ने भनिएको थियो तर गृहमन्त्री आउनुभएको छैन। वार्तालाई निष्कर्षमा पुर्याउने गरी हामी आन्तरिक छलफलमै छौँ।'
लामो दूरी पैदल हिँडेर न्यायको मागसहित राजधानीतर्फ प्रस्थान गरेका पीडित वार्ताको आशामा निजगढमै रोकिएका छन्। उनीहरूले तत्काल वार्ता टुङ्ग्याएर आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक स्थानीय नेताका अनुसार गृहमन्त्री गुरुङ बुधबार बिहानदेखि सिमरामा पार्टी कार्यकर्तासँग भेटघाट तथा उनीहरूका गुनासा सुन्न व्यस्त थिए। बाराको सिमरास्थित जगदम्बा र हुलास स्टिल उद्योगबाट निस्कने प्रदूषित पानीका कारण दुर्गन्ध फैलिएको स्थानीयको गुनासोपछि गृहमन्त्री त्यहाँ अनुगमनमा पुगेका हुन्।
पैदल मार्चको नेतृत्व गरिरहेकाहरूले भने वार्ता सम्भवतः आजै निष्कर्षमा पुग्ने अपेक्षा गरेको बताएका छन्।
