पाँच दिनदेखि अस्पतालमा छन् माजिद, प्रहरीसँग खोजिरहेका छन् पक्राउ गर्नुको आधार

प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी शिवकुमार बुढाथोकी भन्छन्- त्यसबेला प्रहरीको काममा अवरोध गरेपछि माजिदलाई पक्राउ गरियो

असार ३१, २०८३

गौरव पोखरेल

Majid has been in the hospital for five days, police are trying to find a basis for his arrest.

काठमाडौं — काठमाडौंका सुकुमवासी बस्तीमा डोजर चलेपछि अलपत्र परेकाहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पानी पसेपछि पीडामा ऐक्यबद्धता जनाउन पुगेका ३ जना जेन-जी अगुवा गत शनिबार पक्राउ परेका थिए । पक्राउ परेकामध्ये सरिस्मा थापा र नेल्सन घतानीलाई बेलुकी नै कागज गराएर प्रहरीले छाड्यो ।

प्रहरीबाट कुटपिट र दुर्व्यवहारमा परेका माजिद अन्सारी चाहिँ अहिलेसम्म त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको बेड नम्बर ३०९ मा उपचाररत् छन् ।  प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गर्नुको कुनै कागजात समेत दिएको छैन ।

नेपाल ल क्याम्पसमा बीएएलएलबी अध्ययनरत जेन-जी अगुवा माजिदले शनिबार प्रहरीले कुटपिट गरेर भ्यानमा राख्दा पक्राउ पूर्जी मागेका थिए । तर प्रहरीले उल्टै विद्यार्थी भएर राजनीतिक नगर्न भन्दै अश्लील गाली गरेको थियो ।

अहिले पनि उनी आफूलाई किन कुनै कागजात नदिइ नियन्त्रणमा लिइयो, मेडिकल गराइयो र अहिलेसम्म प्रहरीले किन निगरानी गरिरहेको छ ? भनेर प्रश्न गरिरहेका छन् । प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी शिवकुमार बुढाथोकीले त्यसबेला प्रहरीको काममा अवरोध गरेपछि पक्राउ गरिएको बताएका थिए ।

‘तर मैले पूर्जी पाएको छैन, प्रहरीहरू आउँदै धम्क्याउादै एउटा कागजमा हस्ताक्षर गर्न भनिरहेका छन्,’ अस्पतालको बेडबाट अन्सारीले कान्तिपुरसँग भने भन्छन्, ‘मैले त्यस्तो कागजमा हस्ताक्षर गर्न मानेको छैन ।’

एक जना प्रहरी अधिकृतले आएर उनलाई अझै नियन्त्रणमै रहेको समेत बताएका थिए । तर अन्सारीले चाहिँ कानुन बमोजिम पक्राउ नै नगरिएकाले कसरी नियन्त्रणमा भन्नुहुन्छ भनेर प्रश्न सोधेका थिए । पक्राउ पूर्जी पाउनुपर्ने माग दोहोर्‍याएका थिए ।

आफूमाथि अनावश्यक रुपमा निर्घात कुटपिट गरिएको भन्दै उनले अहिलेसम्म शरीर दुखिरहेको बताए । ‘त्यो दिन एक्कासी प्रहरीले पछाडिबाट कठालोमा समात्ने र कुटपिट गर्न थाल्ने गरेपछि आँखै ब्लर भएको थियो,’ उनले सुनाए, ‘केही समय राम्रोसँग देख्नै सकिन ।’ त्यसपछि उनीसहित ३ जनालाई प्रहरी वृत्त, कीर्तिपुर लगिएको थियो ।

लछारपछार गरिएलगत्तै राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई समेत खबर गरिएको थियो । ‘त्यसपछि प्रहरी कार्यालयको एउटा कोठामा हामीलाई राखिएको थियो,’ पक्राउ पर्नेमध्येकी थापा सम्झिन्छिन्, ‘केही समयपछि स्वास्थ्य जाँच गराउनलाई कीर्तिपुर अस्पताल लगिएको थियो ।’

उनले एक्स-रे गराइदिन अनुरोध गरे, सुरुमा अस्पतालका कर्मचारीले मानेनन् । प्रहरीले अनुमति दिएपछि बल्ल एक्स-रे भयो तर सिटी स्क्यानसमेत गर्नुपर्ने भएपछि उनलाई रिफर थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज रिफर गरियो ।

त्यतिञ्जेल पक्राउ परेका अरु २ जनालाई छाडिसकिएको थियो । ‘अस्पतालमा समेत ४ दिनसम्म प्रहरी निरन्तर बसिरह्यो, क्याबिनभित्रै आएर बसेपछि अरु वकिल साथीहरूले बाहिर बसिदिन भन्नुपरेको थियो,’ अन्सारी भन्छन्, ‘प्रहरी बल्ल बाहिर गएको थियो ।’

शान्तिपूर्ण विरोध जनाएका बेला वा कुनै विषयमा आवाज उठाएकै कारण प्रहरीले लछारपछार गर्दै कुटपिट गर्न थालेको उनले बताए । उनी भन्छन्, ‘म कानुनको विद्यार्थीसमेत भएको हिसाबले यो विरुद्ध अदालतमा जान्छु ।’

काठमाडौं प्रहरीका प्रवक्ता पवनकुमार भट्टराई चाहिँ अन्सारी काठमाडौं प्रहरीको पक्राउ वा अनुसन्धानको दायरामा नभएको बताउँछन् ।

‘पहिले पनि उहाँ पक्राउ नभई होल्डिङ जोनमा व्यवस्थापनमा गर्न जाने बेला गेटमा दुई पक्षबीच हानथाप हुँदा प्रहरीले हटाउने क्रममा चोट लागेर कीर्तिपुर लगेको हो,’ उनले कान्तिपुरसँग भने, ‘चोट लाग्यो भन्नुभएछ, त्यसपछि कीर्तिपुर अस्पताल पठाएको हो, उहाँले फ्याक्चर छ भन्नुभएको रहेछ, त्यसैले शिक्षण अस्पतालमा पठाइएको थियो ।’

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully