होटल संघका पदाधिकारी र प्रधानमन्त्री शाहबीच भेट : ढुक्क भएर लगानी गर्न आग्रह

क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिँदै लगानी बढाउन आग्रह गरेका छन् ।

असार ३१, २०८३

कान्तिपुर संवाददता

Hotel Association officials meet with Prime Minister Shah: Urge to invest with confidence

काठमान्डौं — प्रधानमन्त्री वालेन्द्र शाह र होटल संघ नेपाल (हान)का पदाधिकारीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिँदै लगानी बढाउन आग्रह गरेका छन् । 

प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गरे । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलको समेत उपस्थिति रहेको उक्त छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन पूर्ण सक्षम रहेको जानकारी गराए । हाल वार्षिक १२ लाख मात्र पर्यटक भित्रिरहेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि गर्ने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जानबाट रोक्न होटल उद्योग बलियो माध्यम बन्ने बताए । 

नेपालमा आरोग्य पर्यटन, गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) र क्रस-बोर्डर पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याउँदै उनीहरूले सरकारसमक्ष केही नीतिगत मागहरू प्रस्तुत गरे । उनीहरूले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह बिजुली महसुलमा सहुलियत दिन र साना तथा मझौला होटलहरूका लागि २५ बेडसम्मको संक्षिप्त वातावरणीय मूल्याङ्कन अध्ययन अव्यवहारिक भएकाले त्यसलाई ५० बेडसम्म कायम गर्न माग गरे । 

यसैगरी, उनीहरूले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन अनुरोध गरे । उनीहरूले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा प्रविधि हस्तान्तरण अन्तर्गत ट्रेडमार्क प्रयोगको रोयल्टी वा शुल्कको रकम, प्रचलित करबाहेक कुल बिक्री मूल्यको ५ प्रतिशतभन्दा नबढ्ने भन्ने व्यवस्था संशोधन गरी आपसी समझदारीमा मूल्य कायम गर्ने व्यवस्था मिलाउन र होटल व्यवसायसँग सम्बन्धित अन्य कानुन संशोधन तथा पुनरावलोकन गर्न आग्रह गरे । 

त्यस्तै, डेस्टिनेसन वेडिङका लागि गरगहना ल्याउने प्रक्रिया सहज बनाइदिन र आरोग्य पर्यटनको प्रवर्द्धनका लागि फोटो, भिडियोमा मात्र सीमित नभई ‘फुल स्टोरी टेलिङ’ सहितको प्याकेज र विज्ञहरूको व्यवस्था गर्न समेत उनीहरूले सरकारसँग आग्रह गरे । 

कान्तिपुर

Link copied successfully