नेपालको सुरक्षा, शान्ति र व्यवस्था वा मित्रराष्ट्रहरूसँगको सम्बन्धमा खलल पुर्याउने वा विरोध पार्ने देखिएमा चलचित्र जाँच समितिले प्रदर्शनको अनुमति नदिने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण
काठमाडौं — सरकारले नेपालको सुरक्षा, शान्ति सुव्यवस्था तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धमा आँच पुर्याउने प्रकृतिका चलचित्र प्रदर्शनमा रोक लगाउन निर्देशन दिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्र पठाउँदै प्रचलित कानुनबमोजिम त्यस्ता चलचित्रहरूलाई प्रदर्शन अनुमति नदिन सचेत गराएको हो ।
मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाद्वारा विकास बोर्डलाई पठाइएको पत्रमा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८ (३)को व्यवस्थालाई कडाइका साथ पूर्ण पालना गर्न र गराउन भनिएको छ ।
उक्त दफामा कुनै चलचित्र वा त्यसको कुनै भागले नेपालको सुरक्षा, शान्ति र व्यवस्था वा मित्रराष्ट्रहरूसँगको सम्बन्धमा खलल पुर्याउने वा विरोध पार्ने देखिएमा चलचित्र जाँच समितिले प्रदर्शनको अनुमति नदिने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ।
मन्त्रालयका शाखा अधिकृत विशाल भण्डारीद्वारा डिजिटल हस्ताक्षर गरिएको उक्त पत्रमा भनिएको छ, 'नेपालभित्र सार्वजनिक प्रदर्शन हुने चलचित्रहरूले जाँच समितिमा जाँचपासका लागि निवेदन दिने र सोको आधारमा प्रचलित ऐन, नियमावली बमोजिम जाँचपास भई प्रदर्शन हुने व्यवस्था बमोजिम चलचित्र निर्माता, वितरक तथा अन्य सरोकारवालाहरूले ऐनको उक्त प्रावधानलाई पूर्ण रूपमा पालना गर्नु पर्ने हुन्छ ।'
सरकारको परिपत्र र नीतिगत कडाइबारे इकान्तिपुरसँग कुरा गर्दै केन्द्रीय चलचित्र जाँच समितिका सदस्य मनोज पण्डितले अब नेपालमा कुनै पनि 'प्रोपोगान्डा सिनेमा' चल्न नदिइने बताए । विगतमा विदेशी चलचित्रका हकमा यस्ता नियमहरू फितलो हुने गरेको स्वीकार्दै यसपटक भने यसलाई दृढताका साथ लागु गर्न लागिएको जानकारी दिए । पण्डित आफैँले पनि यो विषयमा बोर्ड बैठकहरूमा लगातार आवाज उठाउँदै आएको बताए ।
पण्डितले भने, ‘नेपालका छिमेकी राष्ट्रहरूको विरुद्धमा बनेका र नेपालको राष्ट्रियतामाथि आँच आउने फिल्महरू अब नेपालमा चल्ने छैनन् । पहिला विदेशी सिनेमाको सम्बन्धमा यो नियम खासै लागु हुँदैनथ्यो तर अहिले कडाइका साथ लागु गराउन खोजिएको हो ।’
उनले यो नियम कुनै निश्चित मुलुक वा व्यक्ति विशेषविरुद्ध लक्षित नभएको प्रष्ट पारे । 'यो नियम कसैको विरुद्ध लागु हुन लागेको होइन । हामी हाम्रा सबै छिमेकी राष्ट्रहरूसँगको मित्रतापूर्ण र सुमधुर सम्बन्धलाई जोगाइराख्न चाहन्छौँ,’ पण्डितले थपे, ‘मुख्य कुरा, हामी आउने पुस्तालाई सिनेमाकै माध्यमबाट कसैप्रति पनि वैरभाव राख्ने खालको बनाउन चाहँदैनौँ । त्यसैले विदेशी प्रोपोगान्डा सिनेमाहरूलाई निषेध गर्न खोजिएको हो ।’
