सञ्चारगृहअगाडि गाडी तेर्स्याएको घटनामा सांसदहरूको आपत्ति, भने- ‘राज्य संरक्षित कार्य’

गणेश नेपालीको आत्मदाह र सुकुमवासी पीडितलाई सरकारले गरेको व्यवहारलाई लिएर उठेका सार्वजनिक प्रश्नबाट ध्यान मोड्न सञ्चारमाध्यम र नेताका घरअगाडि गाडी पार्किङ गरेर त्रास सिर्जना गरेको सांसदहरूको भनाइ छ ।

असार ३०, २०८३

कान्तिपुर संवाददाता

MPs object to the incident of a vehicle being parked in front of the media house, saying it was a 'state-protected act'

काठमाडौँ — सञ्चारगृहहरूका गेट अगाडि गाडी पार्किङ गरेर आवतजावत गर्न अवरोध पुर्‍याउने कार्य राज्य संरक्षित भएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने राजनीतिक दलका सांसदले नेपाली सञ्चार जगतलाई तर्साउनका लागि राज्यद्वारा संरक्षित व्यक्तिहरूले नै गाडी पार्किङ गरेको भन्दै आपत्ति जनाए ।

हेर्दा सांकेतिक सानो घटना भए पनि यसले पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको आतंकको याद दिलाउँछ । - गणेशसिंह ठगुन्ना, एमाले सांसदसोमबार बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइन खबर र हिमालयन टीभीको काठमाडौंस्थित कार्यालयका प्रवेशद्वारमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको थियो । नेपाली सञ्चारमाध्यमलाई तर्साउन र सरकारमाथि उठ्ने प्रश्न रोक्नका लागि यस्ता गतिविधि सरकार सञ्चालकको संरक्षणमा नै भएको हुन सक्ने भन्दै प्रतिनिधिसभामा प्रतिपक्षी सांसदहरूले खबरदारी गरेका छन् ।

प्रतिपक्षी एमालेका सांसद गणेशसिंह ठगुन्नाले सञ्चारमाध्यममा मानसिक त्रास सिर्जना गर्नका लागि सवारीसाधन गेटमा पार्किङ गरिएको बताए । ‘हिजो मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको घरमा सवारीसाधन तेर्स्याएर मानसिक त्रास फैलाउन काम भएको छ । हेर्दा सांकेतिक सानो घटना भए पनि यसले पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको आतंकको याद दिलाउँछ,’ उनले भने । ती कार्यमा संलग्न व्यक्तिलाई छानबिन गरी कारबाहीका लागि उनले माग गरे । 

सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्स्याएर अवरोध पुर्‍याएको घटनाको सत्तारुढ रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले समेत भर्त्सना गरेका छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले सैनिक शासन लगाएर बन्दुक बोकेका सेना समाचार कक्षमा लगाउँदा नतर्सिएको नेपाली प्रेस सडकमा दुई-चार गाडी तेर्स्याउँदैमा नतर्सिने उनको भनाइ थियो ।

हामी सत्तामा छौं भन्दैमा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् । - प्रकाशचन्द्र परियार, रास्वपा सचेतक'हिजो राजधानीमा अग्रणी सञ्चारमाध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवतजावत ठप्प पारी सञ्चारगृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो म यसको कडा शब्दमा भर्त्सना गर्दछु । सत्यसँग डराउनेहरूले मात्र ययस्तो हर्कत गर्छन् तर बुझ्नुपर्ने कुरा के हो भने सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नुजस्तै हो,' परियारले भने, 'हामीले बिर्सेका छैंनौं यो देशमा पत्रकारिताले कति ठूलो आँधीबेहरी सामना गरेर आजको उचाइ हासिल गरेको हो भनेर । हिजो निरंकुश शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचारकक्षभित्र बसेर समाचार सेन्सर गर्थे । म त्यसको साक्षी हुँ । त्यतिबेला नझुकेको नेपाली सञ्चारमाध्यम आज सडकमा दुईचार वटा गाडी तेर्स्याएर तर्सिन्छ होला र ?' रास्वपा लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा उभिएको उनले स्पष्ट पारे । 

सचेतक परियारले प्रेसमाथि हुने कुनै पनि प्रकारको त्रासदी स्वीकार्य नहुने र त्यसका विरुद्धमा बोल्ने बताए । ‘हामी सत्तामा छौं भन्दैमा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्,' उनले भने, ‘गृह प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, सबै सञ्चारगृह र पत्रकारहरूको निर्बाध काम गर्न पाउने सुरक्षा प्रत्याभूति तत्काल गरियोस् । पत्रकारितालाई त्रासरहित वातावरणमा काम गर्न दिइयोस् ।'

रास्वपा सचेतक खुश्बु ओलीले भने गणेश नेपालीको आत्मदाहबाट ध्यान भड्काउनका लागि सञ्चारमाध्यमका गेटअगाडि गाडी तेर्स्याएको बताइन् । उनले व्यंग्यात्मक शैलीमा भनिन्, ‘म सरकारलाई बधाई दिन चाहन्छु । फेरि पनि पहिलाझैं जलनको पीडालाई विषयान्तर गर्नुभयो गाडी आंतकले, त्यसको लागि तपाईंहरूलाई धन्यवाद र बधाई ।’  

प्रकारान्तरले देखियो कि राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरिएको रहेछ । -रमेश मल्ल, नेकपा सांसदनेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले मिडिया हाउस र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाको घरअगाडि गाडी पार्किङ गर्ने कार्यका योजनाकारलाई खोजेर कारबाही गर्न माग गरेका छन् । 'हिजो मिडिया हाउसअगाडि एकाबिहानै गाडी तेर्स्याइयो । प्रमुख प्रतिपक्षी दलका नेताको घरअगाडि गाडी रोकेर जाने काम भयो । दिनभर के हो, कसो हो भनेर होहल्ला भयो । प्रकारान्तरले देखियो कि राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरिएको रहेछ,' पार्टीको तर्फबाट बोल्दै मल्लले भने, '५ सयदेखि लाखौंको जरिवाना गर्छौं भन्ने, त्यो प्रस्ताव अगाडि सार्ने सरकारले आफैले सिर्जना गर्ने, आफैले त्यस्ता मान्छेलाई पठाउने र उनीहरूलाई ५ सय तिराएर घर पठाउने गरेको छ । उनीहरूलाई लाखौं जरिवाना गर्नुपर्छ र गाडी जफत गरिनुपर्छ । त्यसका योजनाकारलाई छिटोभन्दा छिटो छानबिन गरेर कारबाही गरिनुपर्छ ।'

उक्त घटनामा विज्ञप्ति निकालेर रास्वपा पन्छिन नहुने पनि सांसद मल्लको भनाइ थियो । 'सत्तारुढ रास्वपाले वक्तव्य निकालेर मात्रै जिम्मेवारी पूरा हुँदैन । सुत्तारुढ दलले यो विषयलाई गम्भीर रूपमा लिओस् । त्रास सिर्जना गरेर सत्ता सञ्चालन गर्न सकिन्छ भन्ने सरकार सञ्चालकको टाउकोमा त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ,' उनले भने, 'जुन जनताले मतादेश दिएर यहाँ पठाएको छ, त्यही जनताले मतादेश फिर्ता लिनका लागि ठूलो आन्दोनल गर्ने दिन टाढा छैन ।' 

घरको अगाडि पार्किङ गराएर जसरी राज्य आतंक सिर्जना गरिएको छ त्यो कालान्तरमा इतिहासमा कालो अक्षरले लेखिनेछ -ज्ञानबहादुर शाही, राप्रपा संसदीय दलका नेता कांग्रेसले भने प्रश्न गर्नेहरूलाई तर्साउनका लागि सरकार संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम र नेताका घरअगाडि गाडी तेर्स्याउन लागेको बताएको छ । कांग्रेसका सचेतक निश्कल राईले प्रतिपक्षी राजनीतिक दलका सभापति गगन थापाको घर, कान्तिपुर मिडिया ग्रुप र अनलाइन खबरको कार्यालयअगाडि गाडी पार्किङ गरेर अवरोध गरेकोप्रति आपत्ति जनाएका छन् ।

प्रश्न सोध्नेहरूलाई सजाय दिने यस्तो प्रवृत्ति सरकारले लिएकामा उनले आपत्ति जनाएका हुन् । ‘सोमबारको घटना सभापतिको घरमा मात्र भएको होइन । कान्तिपुर, अनलाइनखबरजस्ता प्रतिष्ठित सञ्चारमाध्यम अगाडि पनि त्यस्तै गाडी छाडेर हिँडिन्छ, त्यो पनि सत्तारूढ दलकै नेताको गाडी । सुकुमवासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्युपछिको प्रश्नमाथिको बदला होस्, वा सडकमा गाडी छोडेर सिर्जना गरिएको यो त्रास होस्, तीनवटै घटनाको धागो एउटै ठाउँमा गएर जोडिन्छ, प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति,’ राईले भने । 

सञ्चारमाध्यम र नेताका घरमा मात्रै नभएर सडकमा समेत सरकार निकट व्यक्तिहरूले सवारीसाधन पार्किङ गरेर यातायात अवरोध गरेको राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीको भनाइ थियो । 'आफैं सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्यूरोड, सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फैलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ,' शाहीले भने, 'घरको अगाडि पार्किङ गराएर जसरी राज्य आतंक सिर्जना गरिएको छ त्यो कालान्तरमा इतिहासमा कालो अक्षरले लेखिनेछ ।'

कान्तिपुर

Link copied successfully