मिटरब्याजपीडितसँग वार्ता गर्न गृहमन्त्री फेरि निजगढमा

दिउँसो झण्डै ५ घण्टा चलेको वार्ता निष्कर्षमा नपुगेपछि अहिले राति फेरि सुरु भएको छ ।

असार ३०, २०८३

शिव पुरी

Home Minister in Nijgadh again to hold talks with meter-billing victims

निजगढ — न्यायका लागि भन्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित र गृहमन्त्री सुधन गुरुङबीच बारास्थित निजगढको उद्योग वाणिज्य संघको भवनमा मंगलबार झण्डै ५ घण्टा चलेको वार्ता बिना लिखित सकिएपछि अहिले राति फेरि सुरु भएको छ ।

केहीबेर अघि मात्र गृहमन्त्री गुरुङ सिमराबाट निजगढ आएका हुन् । अहिले तेस्रो चरणको वार्ता भइरहेको छ ।

मिटरब्याज पीडितहरू आन्दोलनका लागि काठमाडौं यात्रा गर्न थालेपछि सरकारले यसअघि गठन भएका गौरिबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोगका प्रतिवेदन तत्काल गृह मन्त्रालयमार्फत कार्यान्वयनमा लैजाने निर्णय गरेलगत्तै सिमराबाट गृहमन्त्री गुरुङ निजगढ आएका हुन् । उनी बिहानदेखि मिटरब्याज पीडितहरूको गुनासो सुन्न र वार्ता गर्न बसेका थिए ।

तेस्रो चरणको वार्तामा बस्ने गरी उनी साँझ सिमरा फर्किएका थिए । मिटरब्याज पीडितहरुसँग निजगढ पुगेर गृहमन्त्री गुरुङ वार्ता गर्न थालेपछि प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । निर्णय सँगै उनी सिमरामा सुरक्षाअधिकारीसितको बैठक सकेर निजगढ फर्किएका हुन् । अहिले वार्ता भइरहेको मिटरब्याज पैदलमार्चका अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिइन् । ‘तेस्रो चरणको वार्ताको लागि गृहमन्त्री गुरुङ मिटरब्याज पीडित बसेको स्थानमा आउनु भएको छ,’ उनले भनिन्, ‘अब हेरौँ के कस्तो निर्णय हुन्छ ।’ 

मिटरब्याज समस्या समाधानका लागि प्रस्तुत ६ बुँदे मागमाथि बुँदागत रुपमा समाधान हुनुपर्ने पीडितको माग छ । अहिले बोलेको भरमा मात्र कुनै कुरामा विश्वास गर्न नसकिने मिटरब्याज आन्दोलनमा सहभागी संयुक्त जनअधिकार मोर्चा नेपालका संयोजक निर्ग नवीनले बताए । ‘हामीलाई ६ बुँदे मागको एक/एक बुँदामा सहमति चाहिन्छ,’उनले भने,‘अब विश्वासिलो लिखित सहमति चाहिन्छ ।’ मिटरब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा चेकलगायतका लिखत खारेज, प्रभावकारी कानुन निर्माण, विशेष न्यायाधिकरण गठन र विगतका सम्झौता कार्यान्वयन लगायत ६ बुँदे आफूहरुहरुको माग रहेको सयोजक नवीनले सुनाए । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully