सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक व्यवस्थामा खलल पुर्याउने गरी सवारी साधन राख्ने कार्यमा संलग्नहरूको प्रहरीले खोजी गरिरहेको जानकारी दिए ।
काठमाडौं — सरकारले कानुनविपरित र जथाभावी रूपमा सवारी साधन राखेर 'सवारी आतंक’ सिर्जना गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले सञ्चार माध्यम र नेताका घर अगाडि गाडी पार्किङ गर्ने काम नियोजित नभएको समेत स्पष्ट पारे । नेताका घर अगाडि, सञ्चारमाध्यम भवनअघि नियमविपरित सवारी साधनहरू राखिएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले यसमा सरकारको कुनै योजना वा संलग्नता नरहेको प्रष्ट पारे । सोमबार कान्तिपुर, अनलाइन खबर, हिमालय टिभी, कांग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि गाडी पार्किङ गरिएको थियो । प्रहरीले पछि उक्त स्थानबाट क्रेन लगाएर गाडी हटाएको थियो ।
उनले भने, 'यदि यो सरकारकै नियोजित कार्य हुन्थ्यो भने गृह मन्त्रालय मातहतको नेपाल प्रहरीले यसरी खोजी र अनुसन्धान गर्ने थिएन । जुनसुकै पार्टीको भए पनि उनीहरूले गरेको गल्तीका आधारमा प्रचलित कानुनअनुसार के सजाय हुनुपर्ने हो, त्यो भएरै छाड्छ ।’
मन्त्री पोखरेलले सार्वजनिक व्यवस्थामा खलल पुर्याउने गरी सवारी साधन राख्ने कार्यमा संलग्नहरूको प्रहरीले खोजी गरिरहेको जानकारी दिए । उनले यस कार्यमा संलग्न व्यक्ति जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि कानुनबमोजिम सजाय हुने स्पष्ट पारे । सरकारले विधिको शासन कायम गर्न र अराजकता रोक्न कुनै सम्झौता नगर्ने समेत उनको भनाइ छ ।
