कोशी नदीमा पानीको बहावले खतराको सतह पार गर्‍यो

सोमबार बिहान ६ बजेतिर १ लाख ३१ हजार २ सय क्यूसेक मापन गरिएको पानीको बहाव दिउँसो १ लाख ५८ हजार क्यूसेक नाघेको छ ।

असार २९, २०८३

विद्यानन्द राम

राजविराज — अविरल वर्षाले कोशी नदीमा निरन्तर बढेको पानीको बहावले खतराको सतह पार गरेको छ । सोमबार बिहान ६ बजेतिर १ लाख ३१ हजार २ सय क्यूसेक मापन गरिएको पानीको बहाव दिउँसो १ लाख ५८ हजार क्यूसेक नाघेको छ ।

दिउँसो १२ बजे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ५८ हजार २ सय १० क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए । उनकाअनुसार हाल कोशी ब्यारेजमा ५६ मध्ये १८ वटा ढोका खुल्ला गरिएको छ ।

कोशी नदीमा १ लाख ५० हजार क्यूसेक पानीको बहाव पुगेपछि खतराको संकेतस्वरुप रातो झण्डा र बत्ती बालिएको छ । उता, जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिनसम्म सप्तरीसहित आसपासका जिल्लाका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ भने नदी तथा खोला आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully