राति अढाई बजे महाकाली तरेर निकुञ्ज पसे तीन जंगली हात्ती, दिनरात त्रासमा थिए तटीय क्षेत्रका बस्ती

करिब २४ घण्टासम्म नदीको पोखरी क्षेत्रमा बसेका हात्ती राति करिब २:३० बजे झोलुङ्गे पुलछेउको बाटो हुँदै निकुञ्जतर्फ फर्किएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।

असार २९, २०८३

हरिश्चन्द्र बाग

कञ्चनपुर — आइतबार बिहानदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ हरिहरघाटस्थित महाकाली नदीको पूर्वी क्षेत्रमा बसेर स्थानीय बासिन्दालाई त्रसित बनाएका तीनवटा जंगली हात्ती सोमबार बिहानपख मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेका छन्। करिब २४ घण्टासम्म नदीको पोखरी क्षेत्रमा बसेका हात्ती राति करिब २:३० बजे झोलुङ्गे पुलछेउको बाटो हुँदै निकुञ्जतर्फ फर्किएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।

महाकाली नदीमाथि नवनिर्मित चार लेनको पक्की पुलनजिक नदीभित्र बनेको पोखरी क्षेत्रमा आइतबार बिहान हात्ती देखिएपछि निकुञ्ज प्रशासन, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय जनप्रतिनिधि र युवाहरू करिब १८ घण्टासम्म परिचालन भएका थिए। ड्रोन उडाउने, साइरन बजाउने, पटाका पड्काउनेलगायत विभिन्न उपाय अपनाइए पनि हात्ती नदी क्षेत्रबाट बाहिर ननिस्किएपछि आसपासका बस्तीमा त्रास फैलिएको थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार हात्तीहरू नदीमा फसेका भने थिएनन्। महाकाली नदीको पोखरी क्षेत्रमा चिसो पानी, पर्याप्त घाँस र अनुकूल वातावरण भएकाले उनीहरू लामो समय त्यहीँ बसेका थिए। दिनभर पुल र पहुँचमार्गमा मानिसहरूको भीडभाड रहेकाले हात्तीले नदी छाड्न नमानेको उनले बताए। ‘राति मानव गतिविधि कम भएपछि हात्तीहरू आफैँ झोलुङ्गे पुलनजिकको बाटो हुँदै सुरक्षित रूपमा निकुञ्ज प्रवेश गरेका हुन्,’ वाग्लेले भने।

निकुञ्जका अनुसार ती तीनवटै हात्ती समूहबाट छुट्टिएका (बहिष्कृत) जंगली हात्ती हुन्। यी हात्तीहरू विगतमा पनि पटकपटक मानव बस्तीमा पस्ने, मानवीय क्षतिका साथै घरगोठ तथा खेतीपातीमा पनि क्षति पुर्‍याउने र जनधनको जोखिम निम्त्याउने घटनामा संलग्न रहेको अभिलेख छ। त्यसैले उनीहरूको गतिविधिमाथि निकुञ्जले विशेष निगरानी गरिरहेको जनाएको छ।

हात्ती बस्तीतर्फ प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै रातभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, निकुञ्जका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय युवाहरू संयुक्त रूपमा गस्तीमा खटिएका थिए। भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर रातभर निगरानी गरिएको बताए।

हात्तीहरू अन्ततः मानव बस्तीमा प्रवेश नगरी सुरक्षित रूपमा निकुञ्ज फर्किएपछि सीमावर्ती क्षेत्रका स्थानीयले राहतको महसुस गरेका छन्। यद्यपि निकुञ्ज प्रशासनले वर्षायाममा जंगली हात्ती मानव बस्ती नजिक देखिन सक्ने भएकाले नदी किनार र वन आसपासका बासिन्दालाई अझै सतर्क रहन आग्रह गरेको छ।

हरिश्चन्द्र

Link copied successfully