उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १६ जना २३ असारमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको थियो ।
काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुलाई सजाय सुनाउने निर्णयको पेसी 'हेर्दाहेर्दैमा' हुँदै सरेको छ । जिल्ला अदालत काठमाडौंले सोमबार फैसला सुनाउने बहस भएको थियो । जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले 'हेर्दाहेर्दैमा' मंगलबारका लागि राखेको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १६ जना २३ असारमा जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।
कसुर र भूमिकाका आधारमा उनीहरूविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख छ ।
अदालतले रायमाझी, खाँण र पाण्डेसहित गिरोहका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको थियो ।
अदालतले यो प्रकरणलाई राज्यविरुद्धको कसुर भन्दै नेपाली नागरिकको स्वाभिमानमा नै प्रत्यक्ष आँच पुग्ने गरी नेपालको अन्तर्राष्ट्रिय छविमा खलल पुर्याएको टिप्पणी गरेको थियो । मुद्दाका प्रतिवादी सन्दीप रायमाझीसहित सात जनाले सफाइ पाएका थिए । प्रतिवादीहरू सन्दीपसहित रामशरण केसी, टंककुमार गुरुङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीविरुद्ध कसुर पुष्टि नभएको भन्दै अदालतले उनीहरूलाई सफाइ दिएको थियो ।
सरकारी लिखत किर्ते तर्फ टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारी दोषी ठहर भएका थिए ।
संगठित अपराधतर्फ केशवप्रसाद दुलाल, सानु भण्डारी,सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी दोषी ठहर भएका थिए ।
ठगी तथा संगठीत कसुरको मतियारतर्फ बालकृष्ण खाँण,टेकनाथ रिजाल,नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेल दोषी ठहर भएका थिए । त्यस्तै राज्य विरुद्धको कसुर र एकीकृत कसुरतर्फ केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर केसी, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमरा चौधरी,आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी दोषी ठहर भएका थिए । त्यसैगरी पूरक अभियोगपत्र मात्र प्रतिवादी बनेका वेचन झा ठगीको कसुरदारतर्फ दोषी ठहर भएका थिए ।
