असार २५ को फैसलामा विशेष अदालतले बिलिङ प्रणाली खरिद प्रक्रियामा कुनै बदनियत नदेखिएको ठहर गरेको थियो । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सबै १८ जना प्रतिवादीलाई सफाइ दिएको हो ।
काठमाडौँ — नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै अख्तियारले अदालतमा मुद्दा दायर गरेसँग निलम्बनमा परेकी नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अदालतको सफाइपछि कार्यालय फर्किएकी छन् ।
असार २५ को फैसलामा विशेष अदालतले यस प्रकरणमा कुनै बदनियत नदेखिएको ठहर गरेको थियो । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सबै १८ जना प्रतिवादीलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद र मर्मत प्रक्रियामा अनियमितता भएको दाबीसहित २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो ।
२०८१ भदौ २१ मा नेपाल टेलिकमको पहाडी प्रबन्ध निर्देशकमा नियुक्त भएकी पहाडी अदालतमा मुद्दा दर्ता भएसँगै अन्य कर्मचारीसहित स्वतः निलम्बनमा परेकी थिइन् । यस प्रकरणमा पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई प्रतिवादी बनाइएको थियो ।
प्रतिवादीहरूमध्ये १४ जना टेलिकमका कर्मचारी थिए । अन्य प्रतिवादीहरू चिनियाँ ठेकेदार कम्पनी एसिया इन्फो र त्यसका प्रतिनिधि थिए । पहाडी निलम्बनमा परेपछि नेपाल टेलिकममा सविना मास्के निमित्त प्रबन्ध निर्देशक बनेकी थिइन् । २०८२ माघ २१ मा ५८ वर्षे उमेर हदका कारण उनी अनिवार्य अवकाश भएसँगै माघ २३ देखि उक्त पदमा रिना डंगोललाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो ।
