एसोसिएसनले सञ्चार संस्थामा नियोजित रुपमा अवरोध सिर्जना गर्नु संस्थामाथिको हस्तक्षेप मात्र नभई, नेपालको संविधानद्वारा सुनिश्चित गरिएको पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हकमाथिको प्रत्यक्ष आक्रमण भएको जनाएको छ ।
काठमाडौँ — मिडिया लयर्स एसोसिएसन नेपालले सोमबार बिहान कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमा सवारीसाधन पार्किङ गरी नियमित कार्यसम्पादनमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कुनै पनि सञ्चार संस्थाको कार्यालयमा नियोजित रूपमा अवरोध सिर्जना गर्नु एउटा संस्थामाथिको हस्तक्षेप मात्र नभई, नेपालको संविधानद्वारा सुनिश्चित गरिएको पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हकमाथिको प्रत्यक्ष आक्रमण भएको एसोसिएसनले विज्ञप्तिमार्फत जनाएको छ ।
एसोसिएसनले घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गरी वास्तविक तथ्य सार्वजनिक गर्न तथा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । एसोसिएसनका अध्यक्ष अधिवक्ता बाबुराम अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ - 'यस्ता गतिविधिले स्वतन्त्र, निर्भीक र उत्तरदायी पत्रकारितालाई भय, दबाब र त्रासको वातावरणमा धकेल्ने प्रयास गर्दछ, जुन लोकतान्त्रिक मूल्य र संवैधानिक शासन व्यवस्था सँग पूर्णतः असंगत छ । हामी नेपाल सरकारसँग उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गरी वास्तविक तथ्य सार्वजनिक गर्न तथा घटनामा संलग्नलाई कानुनबमोजिम तत्काल कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।'
विज्ञप्तिमा घटनाबारे समयमै जानकारी प्राप्त हुँदाहुँदै पनि नेपाल प्रहरीले आवश्यक सतर्कता, रोकथाम र प्रभावकारी व्यवस्थापन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ । सिसिटिभी फुटेज, सवारीसाधनको विवरणलगायत आवश्यक प्रमाण उपलब्ध भइसकेको अवस्थामा पनि दोषीमाथि तत्काल कारबाही नभएको भन्दै निष्पक्ष अनुसन्धानमाथि प्रश्न उठेको एसोसिएसनको भनाइ छ ।
लोकतान्त्रिक समाजमा सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारको दबाब, अवरोध, धम्की वा हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्दै एसोसिएसनले प्रेस स्वतन्त्रता सञ्चार संस्थाको मात्र नभई नागरिकको सुसूचित हुने अधिकारको आधार भएको जनाएको छ ।
एसोसिएसनले सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सञ्चार संस्थाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।
