विश्वभरका ९६ देशका सदस्य संस्था आबद्ध रहेको आईएसएसएमजीईले प्रत्येक चार वर्षमा उत्कृष्ट योगदान पुर्याउने राष्ट्रिय सदस्य संस्थालाई प्रदान गर्ने यो सम्मान यस पटक नेपाल जियोटेक्निकल सोसाइटीलाई प्रदान गरेको हो।
काठमाडौँ — नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित आईएसएसएमजीई (इन्टरनेशनल सोसाइटी फर सोइल मेकानिक्स एन्ड जियोटेक्निकल इन्जिनियरिङ) को ‘सर्वोत्कृष्ट सदस्य संस्था अवार्ड–२०२६’ पाएको छ।
यही अवार्ड अस्ट्रेलियाले पनि पाएको हो। उक्त अवसरमा आइतबार ललितपुरस्थित युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा विशेष सम्मान तथा उत्सव कार्यक्रम आयोजना गरिएको छ।
विश्वभरका ९६ देशका सदस्य संस्था आबद्ध रहेको आईएसएसएमजीईले प्रत्येक चार वर्षमा उत्कृष्ट योगदान पुर्याउने राष्ट्रिय सदस्य संस्थालाई प्रदान गर्ने यो सम्मान यस पटक नेपाल जियोटेक्निकल सोसाइटीलाई प्रदान गरेको हो।
व्यावसायिक जियोटेक्निकल इन्जिनियरिङको विकास, अन्तर्राष्ट्रिय सहकार्य, ज्ञान आदानप्रदान तथा संस्थागत सक्रियताको मूल्यांकनका आधारमा नेपाललाई यो सम्मान प्राप्त भएको संस्थाकी महासचिव इन्जिनियर कल्पना अधिकारीले बताइन्। नेपाल जियोटेक्निकल सोसाइटीले सम्मान पाएको अवसरमा आइतबार ललितपुरस्थित युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा विशेष सम्मान तथा उत्सव कार्यक्रम आयोजना गरिएको छ।
महासचिव अधिकारीले अस्ट्रियाको भियनामा सम्पन्न २१औं अन्तर्राष्ट्रिय जियोटेक्निकल सम्मेलनमा नेपालका तर्फबाट पुरस्कार ग्रहण गर्दाको अनुभव साझा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु गौरवपूर्ण अवसर भएको बताइन्।
कार्यक्रममा विभिन्न इन्जिनियरिङ पेशागत संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सरकारी निकायका अधिकारी, प्राध्यापक, उद्योग क्षेत्रका प्रतिनिधि, वरिष्ठ जियोटेक्निकल इन्जिनियर तथा नेपाल जियोटेक्निकल सोसाइटीका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आईएसएसएमजीईका अध्यक्ष, तत्कालीन अध्यक्ष तथा एसिया उपाध्यक्ष अनलाइनमार्फत सहभागी हुँदै नेपाललाई बधाई दिएका थिए। उनीहरूले अन्तर्राष्ट्रिय जियोटेक्निकल समुदायमा नेपालको बढ्दो सक्रियता तथा योगदानको प्रशंसा गरेका थिए।
नेपाल जियोटेक्निकल सोसाइटीका अध्यक्ष इन्द्रप्रसाद आचार्यले विगतका कार्यसमिति, पूर्वअध्यक्षहरू, सरकारी निकाय, विश्वविद्यालय, निजी क्षेत्र तथा सहकार्य गर्ने विभिन्न पेशागत संस्थाप्रति आभार व्यक्त गर्दै यो उपलब्धि सबैको साझा योगदानको परिणाम भएको बताए।
