गेटअगाडि गाडी राखेर सरकारले प्रश्न गर्नेहरूको मुख थुन्न खोज्यो : गगन थापा

सरकारको आलोचना र जवाफदेहिताको माग लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गर्दै सभापति गगन थापाले आफूहरूले आवश्यक ठाउँमा आलोचना र आवश्यक ठाउँमा प्रश्न उठाउँदै आएको बताए ।

असार २९, २०८३

कान्तिपुर संवाददाता

The government tried to silence those who questioned it by parking vehicles in front of the gate: Gagan Thapa

काठमाडौं — कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यमका कार्यालय र आफ्नो निवास अगाडि शंकास्पद रुपमा गाडी राखिएको घटनालाई सरकारले प्रश्न गर्ने आवाज बन्द र मुख थुन्न खोजेको बताएका छन् ।

बीपी स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित विशेष छलफलमा थापाले आइतबार विहान आफ्नो घरको गेटअगाडि एउटा गाडी ल्याएर राखिएको र त्यसमा संलग्न व्यक्ति प्रशासनकै गाडी चढेर गएको स्थानीयवासीले जानकारी दिएको दाबी गरे ।

'विहान ७ बजेतिर गेटको मुखमा एउटा गाडी राखिएको छ । २ जना आएर राख्नुभएको हो भन्ने स्थानीयबासीले भन्नुभएको छ,' उनले भने, 'अचम्म लाग्ने कुरा के छ भने गाडी राखिसकेपछि प्रशासनको गाडी चढेर गएको छ ।पटक पटक स्थानीयबासीले प्रहरी प्रशासनलाई खबर गर्नुभएको छ ।’

थापाले उक्त घटनाप्रति सरकारमाथि नै आशंका व्यक्त गर्दै भने, 'यो सबै सरकार आफैले गरेको हो ।सरकार आफै प्रश्न बन्द गर्न उर्लिएर आएको छ। सबैभन्दा अचम्म लाग्ने कुरा यही हो । हामी सबैले ध्यान दिनुपर्ने विषय हो ।’

उनले यस्ता घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक अधिकारमाथि कुनै पनि प्रकारको दबाब स्वीकार्य नहुने बताए । ‘सबै कुराहरू खेदजन्य छन्,' उनले भने, 'यस्ता कुराले कांग्रेस र आम नागरिकको प्रश्न गर्ने हक कसैले खोस्न सक्दैन । हाम्रो हिम्मत पनि खोस्न सक्दैन ।’

सरकारको आलोचना र जवाफदेहिताको माग लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गर्दै थापाले आफूहरूले आवश्यक ठाउँमा आलोचना र आवश्यक ठाउँमा प्रश्न उठाउँदै आएको बताए ।

'हामीले गरेको कुरा के हो ? आलोचना गर्नुपर्ने ठाउँमा आलोचना गरेका हौं। जहाँ प्रश्न गर्नुपरेको हो, त्यहाँ प्रश्न गरेका हौं,' उनले भने।थापाले आफ्नो घरअगाडि गाडी राखिएको घटना व्यक्तिगत नभई आफूलाई तर्साएर बोल्न नदिने प्रयास भएको दाबी गरे ।

'आज मेरो घरअगाडि गाडी राखेको होइन् । मेरो मुख थुन्नका लागि हो, तर्साउन खोजेको हो । प्रश्न गरिस् भने खबरदार भनेर तर्साएको हो,' उनले भने, 'त्यहाँ कुनै नागरिक आएर गाडी राखेको होइन्। गाडी राख्ने मान्छे गाडी राखेर प्रशासनको गाडी चढेर गएको छ ।'

कान्तिपुर

Link copied successfully