जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले दुई गोदामबाट ९४८ बोरा खरबुजाको बीउ बरामद गरेको छ । भारतमा यसको आयातमा कडा प्रतिबन्ध भएपछि तस्करहरूले नेपालको खुला सीमा प्रयोग गर्न थालेका छन् ।
झापा — भद्रपुर नगरपालिका–३ को एक निजी घरमा छापा मारेर ९ सय ४८ बोरा खरबुजाको बीउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख (एसपी) वसुन्धरा खड्काकै कमान्डमा ५५ जना प्रहरी परिचालन गरिएको छ ।
सामान्यतया यस्ता बरामदमा सीमित प्रहरी टोली खटिने भए पनि यसपटक जिल्ला प्रहरी कार्यालयले उच्च तहको कमान्ड र ठूलो संख्यामा जनशक्ति परिचालन गरेपछि अपरेसनको संवेदनशीलताबारे चासो बढेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ करिब ६ बजे गोप्य सूचनाका आधारमा भीमलाल सुवेदीको घरमा छापा मारिएको थियो। जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भद्रपुरबाट संयुक्त रूपमा परिचालित टोलीले दुई वटा गोदामबाट ९ सय ४८ बोरा खरबुजाको बीउ बरामद गरेको हो ।
प्रहरीका अनुसार उक्त बीउ भन्सार छली गरेर अवैध रूपमा नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बरामद सामग्री थप कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको छ ।
‘५५ जना प्रहरी सामान बोक्नकै लागि परिचालन गरिएको हो । अरु केही हैन,’ यति ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको कारणबारे जिल्ला प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले भनिन्,‘सुरुमा दुई वटा गाडीमा प्रहरी गएको थियो । तर, दुईवटै गोदाम भरिभराउ रहेको देखिएपछि थप प्रहरी बोलाइएको हो ।’
प्रहरीका अनुसार बरामद गरिएको बीउको बजार मूल्य प्रतिकिलो करिब १ हजार ६ सय रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ । गत साता गृहमन्त्री सुधन गुरुङले झापा निरीक्षण गर्दै चोरी-पैठारी, भन्सार छली, लागुऔषध ओसारपसार र मानव बेचबिखन नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका थिए । त्यसयता सीमा क्षेत्रमा सुरक्षा निगरानी उल्लेख्य रूपमा बढाइएको सुरक्षा अधिकारीहरू बताउँछन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामै ‘मेलन सिड’ शीर्षकमा करिब १९ हजार टन खरबुजा–तरबुजाको बीउ आयात भएको छ, जसको मूल्य ३ अर्ब ६ करोड रुपैयाँभन्दा बढी छ । गत आर्थिक वर्षको सोही अवधिमा भने जम्मा ५ सय ९५ टन अर्थात् १४ करोड रुपैयाँबराबरको मात्रै आयात भएको थियो । एक वर्षमै परिमाण करिब ३२ गुणा र मूल्य २२ गुणा बढेको देखिन्छ ।
सरकारी अधिकारीहरूका अनुसार वास्तविक रूपमा खेतीका लागि प्रयोग हुने बीउभन्दा पनि बोक्रा हटाइएको खानयोग्य ‘मगज’ लाई कृषि बीउका रूपमा घोषणा गरी न्यून भन्सार महसुलमा नेपाल ल्याइने र त्यसपछि भारततर्फ तस्करी गरिँदै आएको पाइएको छ ।
भारतीय बजारमा खरबुजाको बीउ (मगज) को ठूलो माग छ । तर, स्वदेशी उत्पादन संरक्षण गर्न भारत सरकारले यसको आयातमा कडा प्रतिबन्ध लगाएपछि तस्करहरूले नेपालको खुला सीमा प्रयोग गर्न थालेको सम्बन्धित क्षेत्रका जानकारहरूको भनाइ छ ।
यसै कारण पछिल्लो समय अफगानिस्तान, नाइजेरिया, सुडान, संयुक्त अरब इमिरेट्स लगायतका देशबाट नेपालमा अस्वाभाविक रूपमा खरबुजाको बीउ आयात हुन थालेको भन्सार विभागले तथ्यांकले देखाउँछ ।
यसअघि पनि विभिन्न जिल्लामा ठूलो परिमाणमा खरबुजाको बीउ बरामद भएको छ । केही दिनअघि बारामा ३ सय १४ बोरा, रुपन्देहीमा ३५ बोरा तथा रौतहटमा करिब १२ हजार ८ सय किलो बीउ बरामद भएको थियो । यसअघि रुपन्देहीबाट भारततर्फ लैजान लागिएको १ सय २५ बोरा पनि नियन्त्रणमा लिइएको थियो ।
