शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा प्रहरी धरपकडको विरोधमा शनिबार जिल्ला प्रहरी मोरङको मूलगेटमा धर्ना बसेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विराटनगर — जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमा धर्ना बसेका बेला शनिबार मध्यराति नियन्त्रणमा लिइएका २६ जना युवालाई प्रहरीले आइन्दा यस्ता गतिविधिमा संलग्न नहुने कागज गराएर आइतबार अभिभावकको जिम्मा लगाएको छ ।
शनिबार काठमाडाैंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा भएको प्रहरी धरपकडको विरोधमा शनिबार जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमै धर्ना बसेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालका अनुसार धर्नाकारीहरूले प्रहरी कार्यालयको मूल गेट अवरुद्ध गरी प्रहरीको कामकारबाही तथा सवारीसाधनको आवतजावतमा बाधा पुर्याएका थिए । ‘पटक–पटक सम्झाइ–बुझाइ गर्दा पनि नमानेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो’, एसपी कटवालले भने,‘आइन्दा धर्ना-प्रदर्शन नगर्ने कागज गराएर अभिभावकको जिम्मा लगाएर पठाएका छौं ।’
यसअघि शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ रहेका सुकुम्वासीको अवस्था बुझ्न पुगेका जेन्जी मुभमेन्ट अलायन्सका प्रतिनिधि माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सोही घटनाको विरोधमा अमेरश माली, कृष्ण यादव, मो. दिल, मो. अकबर, रोहित सहनी, मोहमद सहनी, मोहमद अफरोज, अंकित राजवंशी, आसिफ उमर, चाँद चाहिद, अफताव सेख, अरमान सेख, दीपेशकुमार राय, रिहान सेख, मेहबुब आलम, सारुखान शर्मा, तौफिक उमर, आसिफ सेख, सचिनकुमार मण्डल, मो. जम्सेद आलम, अस्लम समी, प्रियान्सकुमार कर्ण, फरन खान, अमिर जमाली, मो. सिन आलम, अन्जर खान र सकी आलम लगायतका २६ जना युवा प्रहरी कार्यालय अघि धर्ना बसेका थिए ।
