पाको काम गर्नलाई प्रक्रिया केही लामो हुने र होल्डिङ सेन्टरमा भएका सुकुमवासीलाई प्राथमिकतामा राखेर जग्गा तथा लालपुर्जा वितरणको काम अघि बढिरहेको जानकारी उनले दिइन् ।
काठमाडौँ — भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुमवासीका समस्यालाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् ।
आइतबार गृहमन्त्री सुदन गुरुङ लगायतको टोलीसँगै बोडेस्थित होल्डिङ सेन्टरमा पुगेकी मन्त्री रावलले सुकुमवासीलाई लालपूजा दिनुपर्छ भनेरै अव्यवस्थित बसोबासी स्थलबाट सारेर होल्डिङ सेन्टरमा राखिएको बताइन् ।
'सुकुमवासीलाई अब लालपुर्जा दिनुपर्छ भनेर सरकारले कदम चालेको हो । सरकार लागि परेको छ,' उनले भनिन्, 'असारको तेस्रो हप्ताबाट बर्दियाबाट लालपुर्जा वितरण सुरु भइसकेको । यो केही हप्तामै देशैभरि लागू हुन्छ ।'
सुकुमवासीलाई जग्गा, लालपुर्जा दिनलाई कानुनी प्रक्रिया रहेको उनले बताइन् । 'इमोसनल भएर हचुवाको भरमा लालपुर्जा दिँदा त्यो अवस्थित हुन्छ । सरकारले जतिसक्दो काम सुरु गरिसकेको छ । तपाईँहरु भएका ठाउँमा सरकारी टोली आएर विवरण उठाउने छ ।'
पाको काम गर्नलाई प्रक्रिया केही लामो हुने र होल्डिङ सेन्टरमा भएका सुकुमवासीलाई प्राथमिकतामा राखेर जग्गा तथा लालपुर्जा वितरणको काम अघि बढिरहेको जानकारी उनले दिइन् ।
'पाको काम गर्नलाई अलिकति प्रक्रिया लामो छ । सुकुमवासीको हकमा होल्डिङ सेन्टरमा भएकालाई प्राथमिकतामा रहेर काम भइरहेको छ,' उनले भनिन्, 'सुकुमवासी पहिचान मात्र नभई जग्गा पनि पहिचान गर्नुपर्ने हुँदा यो जटिल र संवेदनशील विषय हो । म एक हप्तामा दिन्छु भन्दिनँ । जतिसक्दो चाँडो सुकमवासीको हकमा लालपुर्जा पाउनुहुन्छ त्यो मेरो प्रतिबद्धता नेपाल सरकारको तर्फबाट हो ।'
होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको प्रमाणीकरणका लागि भूमि समाधान समितिको टोली आएर फारम भर्ने लगायका सबै प्रक्रिया गर्ने उनले बताइन् ।
