सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुमवासीको सेल्टर पनि डुब्यो

सुरक्षाका लागि सारिएका उनीहरू झनै असुरक्षित भए, डुबानमा परेका उनीहरूले बस्ती भत्काउँदा बचेका अलिअलि सामान, ओढ्ने/ओछ्याउने, खानेपानी र नियमित खाने औषधिसमेत जोगाउन सकेनन्।

असार २८, २०८३

समर्पण श्री

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले ११ वैशाखमा सामाजिक सञ्जाल फेसबुकमा डुबानमा परेका बस्तीको तस्बिर सेयर गर्दै खोला किनारमा सुकुमवासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नुपरेको स्टाटस लेखे । उनले लेखेका थिए, ‘बिर्सनुभयो कि सम्झनुहुन्छ ? हरेक वर्षको बाढीका कारण काठमाडौंका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको, अनि सरकारले उद्धार गर्नुपरेको दृश्य ! यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि । यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु ।’

प्रधानमन्त्री शाहले नदी किनारका सुकुमवासीलाई सुरक्षित ठाउँमा लैजान बस्ती खाली गर्नुपरेको स्पष्टीकरण दिएका थिए । र, भोलिपल्ट बिहानैदेखि सरकारले सुकुमवासी बस्तीहरूमा डोजर चलायो । तर सरकारले सुरक्षाका लागि भनेर सुकुमवासीलाई राखेको होल्डिङ सेन्टर नै असुरक्षित बनेको छ । शुक्रबार राति साढे १२ बजेदेखि कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेपछि विस्थापित सुकुमवासी थप बिचल्लीमा परे । बिहान ५ बजे कान्तिपुरकर्मी होल्डिङ सेन्टर पुग्दा विस्थापित सुकुमवासीको आश्रयस्थल जलमग्न देखिन्थ्यो । उनीहरू अनिँदो आँखा लिएर बाहिर टोलाउँदै बसिरहेका थिए ।

गेटनजिकै थुपारिएका लथालिंग सामान हेरेर कोही टाउकोमा हात लगाइरहेका थिए त कोही भिजेका कपडा टक्टक्याउँदै थिए । दुई वटा झोला काँधमा भिरेकी गायत्री श्रेष्ठ आँखा मिच्दै गरेकी चार वर्षीया छोरीको हात समातिरहेकी थिइन् । उनकी छोरी खाली खुट्टाले चिसो भुइँमा उभिएर काम्दै थिइन् । ‘यसको जुत्ता चप्पल, लुगा, किताबकापी केही निकाल्न पाइएन, सबै डुबानमा पर्‍यो,’ निन्याउरो अनुहार लगाइरहेकी छोरीलाई हेर्दै गायत्रीले पीडा पोखिन् ।

शुक्रबार साँझदेखि परेको अविरल वर्षाले बागमती खोला बढिरहेको थियो । रातको करिब साढे १२ बजेतिर होल्डिङ सेन्टरभित्र अचानक होहल्ला बढ्यो । मस्त निदाइरहेको गायत्रीको परिवार पनि ब्युँझियो । ‘पानी त माथि–माथिसम्म आउन सुरु भइसकेछ, हतार–हतार उठ्यौं, दुइटा ब्याग र अलि–अलि कागजात निकालेर बाहिर आयौं,’ गायत्रीले सुनाइन् ।

उनका छोरीहरू डराइरहेका थिए । ‘बच्चाले लगाएको एउटा कट्टु र जामा मात्र बाँकी रह्यो, अब के लगाइदिने हो कुन्नि !,’ गायत्रीले सुस्केरा हालिन्, ‘अरू भन्दा पनि १२ वर्षअघि मुटुको अप्रेसन गर्दाको कागजात र केही औषधि त्यहीं छुट्यो ।’ 

सरकारले १२ वैशाखदेखि सुकुमवासी बस्ती भत्काउन थालेपछि थापाथली र शान्तिनगरका विस्थापितले यहाँको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थिए । उनीहरू टेन्टभित्र बास बस्थे । ‘सरकारले हामीलाई बाढीबाट जोगाउन यहाँ ल्याएको भनेको थियो, तर यहाँको बाढी त त्यहाँको भन्दा नि ठूलो भयो,’ भित्तामा अडेसिएर चिन्तित कमली उराउले भनिन् ।

अर्की विस्थापित सुकुमवासी प्रमिला राई प्रधानमन्त्री वालेन्द्रको वाचा सम्झाउँदै आक्रोश पोखिरहेकी थिइन्, ‘उनले भनेको सुरक्षित ठाउँ यस्तो पो रहेछ, त्यहाँ असुरक्षित छौं भन्ने थाहा हुने प्रधानमन्त्रीलाई यहाँ पनि सुरक्षित छैनौं भन्ने किन थाहा भएन ?’ होल्डिङ सेन्टरभित्र बाढी पसेपछि सुरक्षाकर्मी करिब २ बजे आइपुगेका थिए । बिहान डुंगामा तैरिएर केही विस्थापित सुकुमवासीसँगै सुरक्षाकर्मीले सामानहरू खोजिरहेका थिए । ५१ वर्षीया कमला राईले वरैबाट ठूलो स्वरमा भनिन्, ‘मेरो औषधि छुटेको छ, त्यहाँ छ कि हेरिदिनु त, बरु मै आउँछु ।’ तर उताबाट जवाफ आयो, ‘औषधि त कामै लाग्ने छैन ।’

कमला निराश देखिइन् । ‘प्रेसर, थाइराइड र कोलस्टोरको औषधि थियो । बिहानै खानुपर्ने । अब न औषधि छ, न त पिउने पानी,’ उनले मलिन स्वरमा भनिन् । कमला होल्डिङ सेन्टर छेउमा रहेको भवनको छतमा टोलाएर बसिरहेकी थिइन् । उनको नजिक भित्तामा अडेसिएर निदाउन खोजिरहेकी महिलाले भनिन्, ‘ए साँच्ची । खानका लागि पानी पनि छैन । दुई–चार जार कसैले ल्याइदिए पनि हुने ।’

कमलाले तीन वर्षदेखि नियमित औषधि खाँदै आएकी थिइन् । होल्डिङ सेन्टरमा आएपछि रोगहरूको सूचीमा सुगर पनि थपिएको थियो । ‘अस्ति भर्खर किनेको औषधि । अब फेरि किन्ने पैसा कहाँबाट जुटाउने,’ उनले गलेको स्वरमा भनिन् । कुराकानीकै क्रममा कमलाको आँखा पुनः डुबान भएतिरै पुग्यो । दुई युट्युबर घुँडाघुँडासम्म आउने पानी छिचोल्दै भिडियो कन्टेन्टमा मग्न देखेर उनलाई रिस उठ्यो । ठूलो स्वरमा भनिन्, ‘डुब्नू डुब्नू । हामी भाग्यले डुब्यौं, तपाईंहरू रहरले डुब्नू...।’ 

सँगै रहेकी ३० वर्षीया उपमा मगरले रातिको कहालीलाग्दो कथा फेरि सुनाइन्, ‘मैले थाहा पाएपछि सबैलाई हल्ला गरें । त्यतिबेला त कुर्कुच्चासम्म आएको थियो पानी । केहीबेरमै घुँडामाथि आउन थालेपछि आत्तियौं ।’ अरूभन्दा पनि बालबालिकाको डर बढी भयो उनीहरूलाई । बालबालिकालाई निकालिसकेपछि थप सामान निकाल्न थाले । ‘सबै जलमग्न भइसकेपछि मात्र बल्ल प्रहरी आए,’ उनले भनिन् । 

बाँकी निद्राले कहिले ओछ्यान पाउने हो थाहा छैन, उपमालाई । छतबाट डुबेको आफ्नो टेन्टभित्रको सामान सम्झिँदै भनिन्, ‘अब पानी सुक्ला । छेउमा जाउँला । लेदो सोरौंला । लुगा पखालौंला । घाम लागे सुकाउँला । बिग्रिएछ भने त्यहीं छाडुम्ला ।’

कक्षा ५ मा पढ्ने रिजन लामा दुई महिनाअघि मात्र नयाँ किताब, नयाँ ड्रेस पाएर फुरुंग भएका थिए । तर उनको खुसी लामो समय टिक्न पाएन । रातिको बाढीमा केही पनि बाँकी रहेनन् । होमवर्क गरेर शिक्षकलाई बुझाउने कापी पनि जोगाउन पाएनन् उनले । ‘सुतिरहेको थिएँ । केही निकाल्न पाइनँ । उठेर हिडें,’ उनले रुन्चे स्वरमा भने ।

डुबान भएको ठाउँतिर हेरिरहेका मनोज महतोले हामीलाई सुनाए, ‘सरकारले बस्ती भत्काएर बाँकी भएका सामान अलि कति थिए, ती पनि सकिए,’ उनले दुखेसो पोखे, ‘मान्छे पानी खोज्दै जान्छन् । पानी भने हामीलाई खोज्दै आउँछ । अचम्मै ।’ उनले आफूहरूलाई ओढ्ने–ओछ्याउनेहरू व्यवस्थापन गरिदिन आग्रह पनि गरे । हामीलाई राति १ बजे फोनमार्फत बाढी पसेको जानकारी गराएकी गिर्वाणिका थापा पनि १० महिने छोरालाई काखमा लिएर टुसुक्क बसिरहेकी थिइन् । ‘बच्चाहरू अनिँदा छन् । रोइरहन्छन् । न सुताउने ठाउँ छ । मैले कसरी मन बुझाउनु,’ उनले छट्पटाहट सुनाइन् ।

पुनमदेवी पासवानका छोराछोरीलाई भने उनले नजिककै स्मृति भवनमा पठाएकी थिइन् । त्यहाँ उद्धार गरेर कतिपयलाई सुरक्षाकर्मीले लगेका थिए । ‘चिसो लुगा छ । त्यहाँमाथि पनि सुत्न पाइएन भनेर रोइरहेका छन्,’ उनले पनि थपिन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान सूचना जारी गर्दै होल्डिङ सेन्टरमा रहेका १ सय ५४ मध्ये ५४ जनालाई उद्धार गरी टीयूस्थित स्मृति भवनमा लगिएको जनाएको थियो । प्राधिकरणले खाना, पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापनका लागि सुरक्षाकर्मी खटाइरहेको थियो ।

दिउँसो ३ बजे कान्तिपुरकर्मी पुनः होल्डिङ सेन्टर पुग्दा जलमग्न ठाउँ हिलाम्य बनिसकेको थियो । टेन्टबाट निकाल्न नपाएका सामानहरू हिलोमा पुरिएका थिए । ‘ओढ्ने–ओछ्याउनेको हालत हेर्नु त,’ गिर्वाणिकाले घाममा सुकाएका केही थान कपडा देखाउँदै भनिन् । हिलो लागेका हातगोडालाई भुइँमा बिसाउँदै उनी सुस्केरा काढिरहेकी थिइन् । ‘खाना खानुभयो त ?’ कान्तिपुरको प्रश्नमा उनले जवाफ दिइन्, ‘दही चिउरा बाँडिएको थियो । दुःखका बेला भोकै मर्दो रहेछ ।’ उनका छोराहरू भने स्मृति भवनमा राखिएका थिए । ‘त्यहाँ म्याट्रेसहरू ओछ्याइएको छ, सुतेर आराम गर्दै छन्,’ उनले भनिन् । 

यता पुनमदेवी पासवानको पेट पनि यतिबेलासम्म खाली नै थियो । सामानहरू कति त बगेका थिए, भएका पनि फेरि प्रयोग गर्न नमिल्ने भएकाले उनी चिन्तित थिइन् । उनका सानो छोरा पुनम सँगै थिए । ‘यसको जुत्ता चप्पल हिलोमा गाडिएको छ कि भनेर खोजें । तर भेटिनँ,’ खाली खुट्टा उभिएका छोरालाई देखाउँदै भनिन् ।

उनीहरूलाई सरकारले भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा लैजाने तयारी गरिरहेको थियो । बिहान २ बजेदेखि नै प्रधानमन्त्री कार्यालयबाट होल्डिङ सेन्टरको विपद् व्यवस्थापनको फिल्डमा खटिएका ओजस्वी थापाले विस्थापितलाई खरिपाटी लैजाने तयारी गरिरहेको बताए । ‘मेरो पनि आँखा अनिँदो छ । २ बजेदेखि नै म यहीं छु । उहाँहरूको व्यवस्थापन र राहतको संयोजनमा खटिएको छु,’ उनले भने, ‘अब उहाँहरूलाई व्यवस्थित ठाउँस्वरूप खरिपाटी लैजाने तयारी गरिरहेका छौं ।’

तर विस्थापितहरू जान मानिरहेका थिएनन् । पुनमदेवीले कान्तिपुरसँग भनिन्, ‘यी बच्चाहरूको परीक्षा सुरु हुन लागिसक्यो । उता गएपछि फेरि पढाइ छुट्यो भने के गर्ने ?’ स्मृति भवनमा आराम गरिरहेका विस्थापितहरूले कान्तिपुर पुग्दा मःम खाइरहेका थिए । कतिपय बालबालिकाहरू म्याट्रेसमा सुतिरहेका थिए । सरकारले उनीहरूका लागि दिउँसो म्याट्रेसको व्यवस्था गरेको थियो ।

त्यहाँ भएका विस्थापितहरू पनि आफूहरूलाई सरकारले थप बिचल्लीमा पार्ने र बच्चाहरूको पढाइ बिग्रने भन्दै कतै नजाने अडान लिइरहेका थिए । उनीहरूलाई भक्तपुर लैजानका लागि सुरक्षाकर्मीका गाडी तैनाथ थिए । रास्वपाबाट काठमाडौं–१० मा विजयी भएका प्रतिनिधिसभा सदस्य प्रदीप विष्ट सम्झाइरहेका थिए, ‘तपाईंहरू ढुक्क हुनुस्, सरकारले हेर्छ । स्कुल त्यहाँ पनि छन् । बच्चाहरूको पढाइ बिग्रन्न । जिम्मा सरकारले लिन्छ । अहिले गाडीमा बस्नुस् । खरिपाटीमा राम्रो व्यवस्था छ ।’ 

उनीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालका स्वकीय सचिवहरू विवेक बास्तोला र अनुप मगर पनि विस्थापित सुकुमवासीलाई बिचल्लीमा नपार्ने भन्दै सम्झाइरहेका थिए । तर विस्थापित अञ्जली पासवानले दुखेसो पोख्दै भनिन्, ‘हामी जाँदैनौं । बच्चाहरूको पढाइ उसो त बिग्रिएको छ, सरकारले हामीलाई त्यहाँबाट पनि निकाल्छ ।’ 

विस्थापित सुकुमवासीको व्यवस्थापनका विषयमा काम गरिरहेका विवेकका अनुसार कीर्तिपुर होल्डिङ सेन्टरमा ६५ परिवारका १ सय ५४ जनाको नाम दर्ता भएको थियो । त्यसमध्ये ३५ परिवारले स्वव्यवस्थापनका लागि भनेर वितरण गरेको २५ हजार प्राप्त गरेका छन् । २७ परिवारले भने अहिलेसम्म निवेदन दिएका छैनन् । ‘हाम्रो सात–आठ जनाको परिवारको व्यवस्थापन २५ हजारले कसरी हुन्छ ? त्यही भएर फाराम भरेका छैनौं,’ फाराम भर्न बाँकी रहेकामध्येकी एक महिलाले भनिन् । ‘उहाँहरूले फाराम नभरेरै पैसा अड्किएको हो । नत्र आइसक्थ्यो । बाँकी ३ परिवार भने अहिलेसम्म सम्पर्कमा छैनन्,’ स्वकीय सचिव बास्तोलाले भने ।

विस्थापितहरूलाई खरिपाटीमा कहिलेसम्म राख्ने भन्ने निश्चित योजना उनीहरूसँग थिएन । ‘पहिला उहाँहरूलाई यो विपद्बाट व्यवस्थापन गरौं । त्यसपछि थप योजना गरौं । हामी उहाँहरूलाई समस्यामा पार्दैनौं,’ बास्तोलाले भने ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनले पनि अब अर्को व्यवस्थापन नभइन्जेल कीर्तिपुर होल्डिङ सेन्टरका विस्थापितलाई खरिपाटी लैजाने बताए । उनले समितिका अध्यक्ष पनि दिउँसैदेखि फिल्डमा खटिएर विस्थापितको व्यवस्थापनमा लागिरहेको बताए । ‘पहिला खोला किनार जोखिम भयो भनेर त्यहाँ ल्याइयो । अहिले बर्खा सुरु हुनासाथ त्यहाँ पनि समस्या भयो,’ महर्जनले भने । उनका अनुसार कीर्तिपुरमा भएका विस्थापित सुकुमवासीलाई पनि सरकारले स्वव्यवस्थापनका लागि रकम दिएर होल्डिङ सेन्टर छाड्न आग्रह गरेको थियो । ‘तर कतिले फाराम नै भर्नु भएको छैन । कतिले छाड्न मान्नुभएन । त्यसमाथि अब यस्तो भइदियो,’ उनले भने ।

साँझ सबैलाई भक्तपुरको खरिपार्टी लगिएको जानकारी ओजस्वीले दिए । तर विस्थापित सुकुमवासी मेनुका गुरुङले राति अबेरसम्म आफूसहित ३०–३५ जना कीर्तिपुर होल्डिङ सेन्टरमै रहेको बताइन् । ‘राति गाडी नपुगेर हामी ३५ जनाजति छुटेका छौं । के खाने, के गर्ने, केही थाहा छैन,’ उनले दुखेसो पोखिन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully