बैठकले प्रतिष्ठानको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न विषयगत उपसमिति गठन गर्दै तिनका संयोजक चयन गरेको जनाएको छ ।
काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आफ्नो कामलाई थप प्रभावकारी र विषयगत रूपमा व्यवस्थित बनाउन भन्दै विभिन्न ६ वटा उपसमितिका संयोजक चयन गरेको छ ।
प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ मा बसेको बैठकले प्रमुखको प्रस्तावमा उपसमिति संयोजकहरूको जिम्मेवारी तोकेको हो । बैठकले प्रतिष्ठानको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न विषयगत उपसमिति गठन गर्दै तिनका संयोजक चयन गरेको जनाएको छ । निर्णयअनुसार अपांगतासँग संवाद, समन्वय र सशक्तिकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमितिको संयोजकमा रेशम गुरुङ तथा दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिको संयोजकमा डा. डी.बी. सुनार चयन भएका छन् ।
यस्तै, पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्ले चयन भएका छन् ।
प्रतिष्ठानले विषयगत उपसमितिमार्फत नीति निर्माण, अनुसन्धान, प्रशिक्षण तथा सामाजिक सरोकारका क्षेत्रमा थप प्रभावकारी रूपमा काम गर्ने उद्देश्य राखेको जनाएको छ । बैठकले उपसमितिहरूको कार्ययोजना, समन्वय र आगामी गतिविधिसम्बन्धी अन्य विविध निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
