काठमाडौं उपत्यकासहित देशभर वर्षा, विशेष सतर्कता अपनाउन आग्रह

वर्षासँगै काठमाडौंका वाग्मती, विष्णुमती, टुकुचालगायतका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ ।

असार २८, २०८३

रासस

काठमाडौँ — काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार वर्षा भइरहेको छ । वर्षासँगै काठमाडौंका वाग्मती, विष्णुमती, टुकुचालगायतका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ ।

लगातार वर्षाका कारण राजधानीका विभिन्न सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको थियो । केही स्थानमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको भन्दै ट्राफिक प्रहरीले आवश्यक सतर्कता अपनाउन चालक तथा यात्रुलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना छ । विभागले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको जनाएको छ ।

विभागले नदी तथा खोलाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुनसक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक जोखिमपूर्ण क्षेत्रमा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न अनुरोध गरेको छ ।

भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडकमा समेत असर पर्न सक्ने भएकाले आवश्यक पूर्वसावधानी अपनाउन विभागले अपिल गरेको छ ।

रासस

Link copied successfully