प्रहरीले विमानस्थलबाट दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर घर पुर्‍यायो

झापाबाट काठमाडौं फर्किने क्रममा प्रसाईंले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्न खोजेका थिए। तर, प्रहरीले विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा विरोध कार्यक्रम गर्न लागेको भन्दै उनलाई रोकिएको जनाएको छ।

असार २८, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्न रोकेको छ।

झापाबाट काठमाडौं फर्किने क्रममा प्रसाईंले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्न खोजेका थिए। तर, प्रहरीले विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा विरोध कार्यक्रम गर्न लागेको भन्दै उनलाई रोकिएको जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले प्रसाईंलाई विमानस्थलमा विरोध कार्यक्रम गर्न नदिइएको पुष्टि गरे।

एसपी भट्टराईले भने, 'जिल्ला सुरक्षा समितिले विमानस्थललाई संवेदनशील क्षेत्र घोषणा गरेको छ। त्यसैले त्यहाँ कुनै पनि विरोध कार्यक्रम गर्न पाइँदैन।'

प्रहरीले प्रसाईंलाई विमानबाट ओर्लिनेबित्तिकै नियन्त्रणमा लिएको थियो। प्रसाईंनिकट स्रोतका अनुसार प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि सिधै भक्तपुरस्थित उनको घर पुर्‍याएको थियो।

कान्तिपुर

Link copied successfully