गणेश नेपालीका परिवार र सरकार पक्षबीच वार्ता जारी

यसअघिका वार्ता निष्कर्षविहीन भएपछि उनको शव शिक्षण अस्पतालमा राखिएको छ ।

असार २८, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकार पक्षबीच सहमति जुटाउन वार्ता सुरु भएको छ । जारी वार्तामा मृतककी श्रीमती एकमाया नेपाली, दाइ मदन नेपालीसहित हिक्मत शाही, धर्मराज शाही, मुगुका सांसद खड्गबहादुर शाही लगायत छन् ।

वार्ता जिल्ला प्रशासन कार्यालयमा जारी छ । यसअघिका वार्ता निष्कर्षविहीन भएपछि उनको शव शिक्षण अस्पतालमै छ । यसअघि सरकारी पक्षको तर्फबाट जिल्ला प्रशासन कार्यालयले नेपाली परिवारसँग ६ बुँदे सहमति प्रस्ताव राखेको थियो । जसमा मृतककी श्रीमतीलाई रोजगारी र बुवाआमाको पालनपोषणको जिम्मेवारी र छोरीलाई नि:शुल्क उच्च शिक्षाको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भनिएको छ । 

शाहीका अनुसार मृतकका परिवार र आफन्त पक्षको माग गणेश सहिद घोषणा गर्नुपर्ने पनि छ । राइडसेयरिङ चालक रहेकाले श्रमिकका रुपमा कानुनी व्यवस्था गरिनुपर्ने, घटनाका दोषी नगर प्रहरीलाई तत्काल ज्यान मार्ने उद्योगमा सरकारले कानुनी प्रक्रिया अघि बढाउनुपर्ने, श्रीमतीलाई रोजगारी र छोरीको नि:शुल्क उच्च शिक्षाको ग्यारेन्टी हुनुपर्ने र गणेशका बुवाआमाको पालनपोषणको जिम्मेवारी सरकारले लिनुपर्ने माग पीडितले उठाएका छन् ।

महानगरपालिकाले शुक्रबार विज्ञप्तिमार्फत गणेशको परिवारलाई रोजगारी र नि:शुल्क शिक्षाको जिम्मेवारी लिने भनेको थियो ।

शनिबार अबेरसम्म पनि सरकारी पक्षसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा वार्ता भएको थियो । तर निष्कर्ष निस्कन सकेन ।

बिहीबार आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार बिहान निधन भएको थियो । उनको शव वीरबाट निकालेर महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । गणेशको मृत्युबारे उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वको पाँच सदस्यीय समितिले छानबिन गरिरहेको छ । 

मुगुको सोरु गाउँपालिका–६, जमलधारा स्थायी घर भएका गणेश भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए । 

कान्तिपुर

Link copied successfully