नेपाल-चीन सीमास्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट तातोपानीका अनुसार ना६ ख ६९८२ नम्बरको ट्रान्सपोर्ट कम्पनीको कन्टेनरमा पहिरोले क्षति पुर्याएको हो ।
सिन्धुपाल्चोक — नेपाल–चीन सीमा जोड्ने तातोपानी नाकाअन्तर्गत भोटेकोसी गाउँपालिका–२ स्थित लिपिङ बजारमा आइतबार पहिरो खस्दा एउटा कन्टेनरमा क्षति पुगेको छ भने केहीबेर सडक अवरुद्ध बनेको थियो ।
भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार विहानको वर्षापछि लिपिङ डाँडाबाट खसेको पहिरोले लिपिङ बजार क्षेत्र प्रभावित भएको हो । पहिरोले सडक पुरिएपछि सीमा क्षेत्रको आवतजावत केही समय प्रभावित भएको उनले बताए ।
'सडक केहीबेर अवरुद्ध भएको थियो । चरिकोट सडक डिभिजन कार्यालयको एक्स्काभेटर प्रयोग गरेर बाटो तत्काल खुलाइएको छ । तर बर्खाभर यस क्षेत्रमा निरन्तर पहिरो खस्ने जोखिम रहेकाले यात्रा गर्दा सतर्कता आवश्यक छ,' श्रेष्ठले भने ।
सीमास्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट तातोपानीका अनुसार ना६ ख ६९८२ नम्बरको खासा ट्रान्सपोर्ट कम्पनीको कन्टेनरमा पहिरोले क्षति पुर्याएको हो । सडक अवरुद्ध हुँदा चीनबाट भन्सार प्रक्रियाका लागि छुटेका दर्जनौँ कन्टेनर केही समय लिपिङमै रोकिएका थिए । सडक सञ्चालनमा आएपछि सवारी आवागमन पुनः सञ्चालनमा आएको छ । यद्यपि, थप पहिरो खस्ने सम्भावना रहेकाले सुरक्षा निकायले सवारी चालक र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
कोदारी राजमार्गअन्तर्गत तातोपानी नाका जोड्ने करिब २६ किलोमिटर सडकखण्डमा पर्ने 'इको पहिरो' क्षेत्र बर्खायाममा सबैभन्दा जोखिमपूर्ण मानिन्छ । वर्षेनी सडक भासिने, माथिबाट ढुंगा खस्ने र पहिरो जाने समस्या दोहोरिँदा नाका सञ्चालन र नेपाल–चीन व्यापारसमेत प्रभावित हुँदै आएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सीमा क्षेत्र तथा भोटेकोशी नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
चिनियाँ जाङ्मु प्रशासनले गत बुधबार नेपाली सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पठाएको सूचनामा निरन्तर वर्षाका कारण चीनतर्फको बोकु हिमनदीको जलस्तर तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै तल्लो तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको थियो ।
