आज र भोलि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने

प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

असार २८, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — आज र भोलि भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सूचना जारी गर्दै भारी वर्षाको सम्भावना रहेका स्थानमा आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षा पनि हुन सक्ने विभागको प्रक्षेपण छ ।

प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । खोला, खोल्सा तथा नदी आसपासबाट यात्रा गर्ने, पहिरोको जोखिम भएका स्थान तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ । दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन विभागले अनुरोध गरेको छ । 

त्यस्तै, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्गमा डोजर, एक्स्काभेटर र लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा संलग्न साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा काम गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

हटलाइन

कान्तिपुर

Link copied successfully