गणेश नेपालीको मृत्यु घटना : पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्ने

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति भएको हो ।

असार २८, २०८३

गौरव पोखरेल

काठमाडौँ — त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ । सहमति अनुसार घटनाको अनुसन्धानका लागि सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति बनाउने भएको छ ।

सहमतिसँगै त्रिवि शिक्षण अस्पतालमा रहेको नेपालीको शव परिवारले उठाउने भएका छन् । सहमतिमा सरकारबाट तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वराज पौडेल र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् भने पीडित परिवारबाट श्रीमती एकमाया नेपाली, बुबा चिने नेपाली, आमा सौरा नेपाली, दाजु मदन नेपाली लगायतले हस्ताक्षर गरेका छन् ।

नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा छानबिन समितिको प्रतिवेदन, विगतको अभ्यास र प्रचलित कानुन अनुसार आवश्यक निर्णय गरिने भनिएको छ । हाललाई नगर प्रहरीबाट खटिएका कर्मचारीलाई निलम्बन गर्ने काठमाडौं महानगरपालिकालाई लेखेर पठाउने समेत सहमतिमा उल्लेख छ ।

महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकले निर्णय गरेर मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिने समेत भनिएको छ । ‘मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्चको आवश्यक प्रबन्ध मिलाइनेछ,’ सहमतिमा भनिएको छ, ‘यसका लागि सरकारका सम्बन्धित निकायहरूले समन्वय गर्नेछन् ।’

महानगरपालिकाको बैठकबाट निर्णय गराएर मृतकको आश्रित परिवारलाई राहतस्वरुप यथोचित रकम उपलब्ध गराउने पनि भनिएको छ । ‘मृतकको सद्‌गतका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाबाट मिलाइनेछ,’ सहमतिमा भनिएको छ, ‘पीडित परिवार तथा आफन्तको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षणलगायतका लागि कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्‌गत गर्ने जिम्मा लिइनेछ ।’

मृतकको एकाघरको परिवारको यातायात खर्च र काठमाडौंमा काजक्रिया अवधिभर रहँदा, बस्दा हुने खर्चको प्रबन्ध पनि महानगरपालिकाले व्यहोर्ने भनिएको छ । पीडितको परिवारको स्वास्थ्य बिमाको कार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइने समेत भनिएको छ ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully