भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालय मातहत विशेष इकाइ राखिँदै

इकाइले भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवर्द्धनका सम्बन्धमा सूचना संकलन गर्ने, तथ्य प्रमाण जुटाउने र प्रधानमन्त्रीलाई सिधै प्रतिवेदन दिने

असार २८, २०८३

राजेश मिश्र

काठमाडौँ — भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत एक विशेष सुशासन अनुगमन इकाइ राख्न प्रस्ताव गरिएको छ । सरकारले स्वीकृत गरेको भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीतिक योजनामा त्यस्तो प्रस्ताव गरिएको हो । 

‘सदाचारितामा आधारित भ्रष्टाचारमुक्त र समृद्ध राष्ट्र निर्माण’ को अवधारणासहित भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना ल्याइएको छ । १८ असारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त रणनीतिक योजनालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो ।

भ्रष्टाचार नियन्त्रण गर्न तथा सुशासन प्रवर्द्धनका लागि स्वतन्त्र संयन्त्रका रूपमा प्रधानमन्त्री कार्यालय मातहत रहने एकाइको संरक्षक प्रधानमन्त्री रहनेछन् । यस इकाइले भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवर्द्धनका सम्बन्धमा सूचना संकलन गर्ने, तथ्य प्रमाण जुटाउने र प्रधानमन्त्रीलाई सिधै प्रतिवेदन पेस गर्नेछ । चुस्त, छरितो, गतिशील र स्वतन्त्र संयन्त्रका रूपमा उक्त इकाइ रहने भनिएको छ । 

भ्रष्टाचार नियन्त्रणका लागि आगामी पााच वर्षमा के के गर्ने भनेर रणनीतिक योजना ल्याइएको हो, भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धिको पक्षधर राष्ट्र नेपाल पनि हो, त्यसैले महासन्धि कार्यान्वयन गर्न आवश्यक कदम चालिएको हो ।-पुष्कर सापकोटा, प्रधानमन्त्री कार्यालयका कानुन सचिव प्रधानमन्त्री संरक्षक रहने यस इकाइमा प्रधानमन्त्रीले नियुक्त गरेको वा तोकेको वरिष्ठ अनुसन्धानकर्ता, तथ्यांक विश्लेषक, साइबर सुरक्षा विज्ञ, कानुनी सल्लाहकार, सञ्चार अधिकृत र प्रशासन तथा समन्वय अधिकृतलगायतका विषय विज्ञ रहने प्रस्ताव छ । यस इकाइले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एकीकृत अनुगमन संयन्त्रलाई सुदृढ बनाउनुका साथै निर्देशक समिति तथा कार्यसम्पादन समितिको काममा सहयोग गर्नेछ । 

इकाइले आवश्यकताअनुसार कुनै पदाधिकारी वा विज्ञलाई आमन्त्रण गरी आफ्नो जिम्मेवारी सम्पादनमा सहयोग लिन सक्नेछ । भ्रष्टाचारविरुद्धका सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको विशेष टोलीसमेत परिचालन गर्न सकिने भनिएको छ । विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइसकिएको छ । 

त्यसैगरी संघ, प्रदेश र स्थानीय तीनै तहमा भ्रष्टाचार नियन्त्रणको लक्ष्य रणनीतिक योजनाले लिएको छ । त्यसका लागि भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सदाचारका लागि राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल कानुनको परिमार्जन गरी तीन तहका निकायहरूको संस्थागत सुशासन सुदृढ गर्ने लक्ष्य राखिएको छ । भ्रष्टाचार नियन्त्रणका लागि नागरिक सशक्तीकरण तथा डिजिटल प्रविधिलाई जोड दिइएको छ । सार्वजनिक सेवालाई पारदर्शी, सेवाग्राहीमैत्री र जवाफदेही बनाइने भनिएको छ ।

निजी, गैरसरकारी र सहकारी क्षेत्रमा हुने भ्रष्टाचारलाई अपराधीकरण गदै कसुरजन्य सम्पत्ति जफत प्रणालीमा सुधार गरिने रणनीतिक योजनामा उल्लेख छ । निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कानुनी दायरामा ल्याउने भनिएको छ । यसअघि २०६९ मा भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना ल्याइएको थियो । 

प्रधानमन्त्री कार्यालयका कानुन सचिव पुष्कर सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि आगामी पाँच वर्षमा के के गर्ने भनेर रणनीतिक योजना ल्याइएको बताए । नेपाल संयुक्त राष्ट्रसंघीय महासभाले पारित गरेको भ्रष्टाचारविरुद्धको महासन्धिको पक्षधर राष्ट्र रहेकाले महासन्धि कार्यान्वयन गर्न पनि आवश्यक कदमहरू चाल्नुपर्ने आवश्यक रहेको उनले बताएका छन् । ‘महासन्धि कार्यान्वयन गर्न सरकारले कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘पहिलो कार्ययोजनाबाट धेरै कामहरू भएका छन् । केही बाँकी रहेका छन् । साथै नयाँ आवश्यकताको समेत पहिचान गरिएको छ । ती सबै समेटेर भ्रष्टाचारविरुद्धको पाँचवर्षे रणनीतिक योजना ल्याइएको हो ।’ 

रणनीतिक योजनामा निजी क्षेत्रमा हुने भ्रष्टाचार, राष्ट्रिय रणनीति तथा कार्ययोजनाको उद्देश्यअनुरूप ठूला नीतिगत भ्रष्टाचार, ठेक्कापट्टामा हुने मिलेमतो र स्थानीय तहमा हुने अनियमितता पूर्ण रूपमा रोक्न नसकिएको स्विकारोक्तिसमेत व्यक्त गरिएको छ । सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने विषयलाई सरकारले रणनीतिक स्तम्भका रूपमा अगाडि ल्याएको छ । भ्रष्टाचारको प्रभावकारी अनुसन्धान, अभियोजन र प्रतिरक्षाका गर्न विशिष्टीकृत एवम् सक्षम जनशक्ति विकासको लक्ष्य रणनीतिक योजनाले लिएको छ । साथै विद्यमान नीति तथा कानुनी व्यवस्थाको समग्र समीक्षा गर्दै कानुनमा आवश्यक संशोधन तथा नयाँ कानुन तर्जुमा गरिने तयारी छ ।

सरकारी पदाधिकारी तथा कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि, तीनवटै तहअन्तर्गतका निकायहरूको संस्थागत सुदृढीकरणका साथै न्यायिक क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई निरुत्साहित गरिने कार्ययोजना सरकारले तय गरेको छ । राजनीतिक दलका वित्त व्यवस्थापन र क्रियाकलापलाई पारदर्शिता कायम गर्ने, संवैधानिक निकाय तथा अन्य राजनीतिक नियुक्तिलाई पारदर्शी, योग्यतामा आधारित एवम् उत्तरदायी बनाई व्यवस्थित गरिने भनिएको छ । भ्रष्टाचारजन्य कसुरको सूचनादाता, सुराकी, साक्षी, विशेषज्ञ र पीडितको सुरक्षाको सुनिश्चितता गरिने उल्लेख छ । 

त्यसैगरी राष्ट्र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ मा क्रिप्टो करेन्सीसम्बन्धी कसुरको कुनै स्पष्ट परिभाषा तथा व्यवस्था नभएकाले कानुनमा संशोधन गर्नुपर्ने रणनीतिक योजनामा उल्लेख छ । 

भ्रष्टाचार निवारण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत, निर्वाचन, न्याय परिषद्, महाभियोग, सैनिक, प्रमाणपत्र, मुलुकी देवानी कार्यविधि संहिता, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था तथा निजी क्षेत्रसँग सम्बन्धित प्रचलित विभिन्न ऐनहरूमा संशोधन गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ । निजामती सेवा, सम्पत्ति विवरण स्क्रिनिङ गर्ने, स्वार्थको द्वन्द्वसम्बन्धी, सुराकी संरक्षण, राष्ट्रिय सतर्कता, विद्युतीय कारोबार, कम्पनीका साथै गैरसरकारी तथा निजी क्षेत्रमा हुने भ्रष्टाचार कार्य नियन्त्रणसम्बन्धी नयाँ ऐनहरू निर्माण गर्नुपर्ने पहिचान गरिएको छ । 

संयुक्त राष्ट्रसंघीय महासभाले सन् २००३ अक्टोबर ३१ तारिखमा भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ फेब्रुअरी २३ तारखिमा यो महासन्धिलाई अनुमोदन गरेको हो । महासन्धिले भ्रष्टाचार नियन्त्रणका लागि कानुन, संस्थागत व्यवस्था र अभ्यासको खाका प्रस्तुत गरेको छ । भ्रष्टाचारविरुद्ध उपयुक्त विधि कार्यान्वयन गर्न मार्गनिर्देश महासन्धिले गरेको छ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully