खाल्डोमा डुबेर सिरहामा एकै परिवारका ३ बालबालिकाको मृत्यु 

चोहर्वास्थित पशु हाटबजार परिसरमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय बासिन्दा अवास शेखका दुई छोरी र एक छोराको मृत्यु

असार २८, २०८३

विनय आजाद

सिरहा — सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । गोलबजार नगरपालिका-७ स्थित पुरानो चोक चोहर्वामा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको हो ।

प्रहरीका अनुसार, चोहर्वास्थित पशु हाटबजार परिसरमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीया छोरा साइफुल शेख नुहाउने क्रममा डुबेका थिए ।

घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले बालबालिकाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएकोमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् । रौतहटका स्थायी बासिन्दा शेख करिब तीन दशकदेखि चोहर्वामा परिवारसहित बसोबास गर्दै आएका थिए ।

 मृतक बालबालिकाको शव पोष्टमार्टमका लागि घटना मुचुल्का गरी अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully