पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्, प्रहरीले लखेट्दा पोखरीमा हामफालेका किशोरको मृत्यु घटना

शव फेला परेपछि मृतकका आफन्त र स्थानीयले घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिन, किशोरलाई लखेट्ने प्रहरीमाथि कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गरे । उनीहरूले शव पोस्टमार्टमका लागि लैजान नदिई सडक अवरुद्ध र नाराबाजी गरेका थिए ।

असार २६, २०८३

पर्वत पोर्तेल

Understand in Five Questions and Answers: The Incident of the Death of the Teenager Who Jumped into the Pond While Being Chased by Police

What you should know

विराटनगर — गाँजा बोकेको आरोपपछि भागेका मोरङ जहदा गाउँपालिका-१ का १७ वर्षीय किशोर मञ्जितकुमार यादवको तीन दिनपछि पोखरीमा शव फेला पर्‍यो । जसका कारण भेडियारी शुक्रबार दिनभर तनावग्रस्त बन्यो । शव पोस्टमार्टमका लागि लैजाने क्रममा स्थानीय र आफन्तले अवरोध गरेपछि प्रहरीसँग झडप भएको थियो । स्थानीयले घटनाको निष्पक्ष छानबिन, संलग्न प्रहरीमाथि कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । मोरङ प्रहरीले भने घटनाबारे प्रेस विज्ञप्ति जारी गर्दै किशोर लागुऔषधसहित पक्राउ पर्ने डरले भाग्ने क्रममा पोखरीमा डुबेको दाबी गरेको छ । उक्त घटनालाई पाँच प्रश्नोत्तरमा बुझौं :

प्रहरीले गाँजा तस्कर भनेर लखेटेको घटना के हो ?

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यही २३ असार बुधबार विराटनगर–१८ भेडियारीमा बीआर ५० एएल ३६७८ नम्बरको भारतीय मोटरसाइकलमा दुई जना गाँजा बोकेर नेपालतिर आउँदै गरेको सूचना प्रहरीलाई प्राप्त हुन्छ । नभन्दै सोही मोटरसाइकलमा दुई जना व्यक्ति शंकास्पद अवस्थामा देखिएपछि अस्थायी प्रहरी पोस्ट भेडियारीको टोलीले जाँचका लागि रोकेको थियो ।

मोटरसाइकल रोक्न खोज्दा चालक विराटनगर-१८ भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादव भागेका थिए भने पछाडि बसेका भारतको सुपौल जिल्ला, नगरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादवलाई नियन्त्रणमा लिइएको थियो । उनको झोलाबाट ६ किलो १३० ग्राम गाँजासमेत बरामद भएको प्रहरीको दाबी छ ।

Understand in Five Questions and Answers: The Incident of the Death of the Teenager Who Jumped into the Pond While Being Chased by Police

ती किशोर भागेको र पोखरीमा हाम फालेको कुरा कसरी बाहिर आयो ?

प्रहरीको प्रेस विज्ञप्तिअनुसार मोटरसाइकल चालक मोरङको जहदा गाउँपालिका–२ का १७ वर्षीय मञ्जितकुमार यादव प्रहरीबाट भाग्दै करिब ४ किलोमिटर दक्षिण–पूर्वतर्फ रहेको पोखरीमा पसेको भन्ने सूचना स्थानीयबाट प्राप्त भएको थियो । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहभागितामा २३ देखि २५ असार साँझसम्म खोजी गरिएको थियो । तर, शुक्रबार बिहान करिब १०:५० मा सोही पोखरीमा मञ्जितको शव तैरिरहेको स्थानीयले देखेका थिए । प्रहरीले लखेट्दै लगेपछि उनले ज्यान जोगाउन पोखरीमा हामफालेको आफन्त राजदीप यादवको भनाइ छ । 

किन स्थानीय र आफन्त विरोधमा उत्रिए ?

शव फेला परेपछि मृतकका आफन्त र स्थानीयले घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिन, किशोरलाई लखेट्ने प्रहरीमाथि कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गरे । उनीहरूले शव पोस्टमार्टमका लागि लैजान नदिई सडक अवरुद्ध र नाराबाजी गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले लाठीचार्ज मात्रै गरेन हवाई फायरसमेत गर्‍यो । नेपाल प्रहरी र सशस्त्रले एक/एक दर्जन राउण्ड हवाई फायर गरेका थिए । 

घटनाबारे प्रहरीको दाबी के छ ?

प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार मञ्जित लागुऔषध बोकेको मोटरसाइकलका चालक रहेको, प्रहरी देखेपछि भाग्ने क्रममा पोखरीमा पसेको र खोजीका क्रममा ३ दिनपछि शव फेला परेको उल्लेख छ । पक्राउ परेका शिवधर यादवविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । साथै, सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको आरोपमा मृतकका आफन्त राजदीप यादवलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको थियो । 

घटनाबारे स्थानीय र आफन्तको भनाइ तथा दाबी के छ ?

स्थानीय र मृतकका आफन्तले प्रहरीको दाबीमाथि प्रश्न उठाउँदै घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने, घटनामा संलग्न प्रहरीमाथि कारबाही गरिनुपर्ने, सत्यतथ्य सार्वजनिक गरिनुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने माग गरेका छन् । उनीहरूले प्रहरीको लखेटाइका कारण किशोरको ज्यान गएको दाबी गर्दै दोषीमाथि कानुनी कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । मृतकको शव कोशी अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully