ज्येष्ठ नागरिक हेरचाहमा परिवारलाई पहिलो आधार बनाउने नीति प्रस्ताव

स्थानीय तहमार्फत समुदायमा आधारित हेरचाह सेवा, दिवा सेवा केन्द्र घरमै पुगेर स्वास्थ्य सेवा, पुनःस्थापना कार्यक्रम तथा ज्येष्ठ नागरिकमैत्री सेवा विस्तार गर्ने प्रस्ताव गरिएको छ ।

असार २६, २०८३

प्रकृति दाहाल

Policy proposal to make the family the primary basis for senior citizen care

What you should know

काठमाडौं — राष्ट्रिय ज्येष्ठ नागरिक नीति (मस्यौदा)–२०८३ ले ज्येष्ठ नागरिकको हेरचाहमा परिवारलाई पहिलो आधार बनाउने प्रस्ताव गरेको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति मस्यौदा, २०८३ ’ तयार गरी ज्येष्ठ नागरिकको एक्लोपनलाई मध्यनजर गर्दै परिवार र समुदायमै आधारित हेरचाह प्रणालीलाई प्राथमिकता दिएको हो ।

सर्वसाधरणका लागि छलफल र सुझावका लागि राखिएको मस्यौदाअनुसार परिवार वा समुदायबाट हेरचाह सम्भव नभएका अवस्थामा मात्र वृद्धाश्रम वा अन्य संस्थागत संरक्षणको व्यवस्था गरिने प्रस्तावमा उल्लेख छ ।  यसले वृद्धाश्रमलाई पहिलो रोजाइ नभई अन्तिम विकल्पका रूपमा स्थापित गरेको छ । 

नेपालमा २०७८ को जनसंख्याअनुसार २९ लाख ७७ हजार ३१८ ज्येष्ठ नागरिक छन् । जुन कुल जनसंख्याको १०.२१ प्रतिशत हो । पछिल्ला वर्षहरूमा शहरीकरण, साना परिवारको बढ्दो प्रवृत्ति र वैदेशिक रोजगारीका कारण ज्येष्ठ नागरिकको हेरचाह पारिवारिक चुनौतीका रूपमा देखिन थालेको छ । यसले कतिपय ज्येष्ठ नागरिक एक्लै बस्न बाध्य भएको र कतिपयले नियमित स्वास्थ्य सेवा, मानसिक साथ र दैनिक हेरचाहसमेत पाउन सकेका नसकेको उल्लेख गर्दै मस्यौदाले परिवारलाई मात्र जिम्मेवार नबनाई राज्य र स्थानीय सरकारको भूमिका पनि स्पष्ट गरेको छ । 

स्थानीय तहमार्फत समुदायमा आधारित हेरचाह सेवा, दिवा सेवा केन्द्र घरमै पुगेर स्वास्थ्य सेवा, पुनःस्थापना कार्यक्रम तथा ज्येष्ठ नागरिकमैत्री सेवा विस्तार गर्ने प्रस्ताव गरिएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य तथा हेरचाह (जेरियाट्रिक)  नियमित स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य सेवा तथा दीर्घरोग व्यवस्थापनलाई प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ । स्वास्थ्य सेवा अस्पतालमा मात्र सीमित नराखी आवश्यक परे घरमै पुग्ने प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लाभग्राहीका रूपमा मात्र नभई अनुभव र ज्ञानको स्रोतका रूपमा पनि परिभाषित गरिएको छ ।

काम गर्न सक्ने ज्येष्ठ नागरिकलाई सामाजिक, शैक्षिक तथा विकासका गतिविधिमा सहभागी गराउने, उनीहरूको सीप र अनुभवलाई समुदायमा उपयोग गर्ने तथा अन्तर पुस्ताबीच ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । 

मस्यौदाले ज्येष्ठ नागरिकमाथि हुने बेवास्ता, हिंसा, आर्थिक शोषण र सम्पत्तिसम्बन्धी विवादलाई सम्बोधन गरेको छ । घटनाको रोकथाम, उजुरी व्यवस्थापन तथा कानुनी संरक्षण प्रणालीलाई प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ । एक्लो, अशक्त, आर्थिक रूपमा विपन्न तथा महिला ज्येष्ठ नागरिकलाई विशेष संरक्षण आवश्यक पर्ने समूहका रूपमा राखिएको छ । संघीय शासन व्यवस्थाअनुसार ज्येष्ठ नागरिकसम्बन्धी सेवा विस्तारमा स्थानीय सरकारको भूमिका बढाइने मस्यौदामा उल्लेख छ ।

स्थानीय तहले ज्येष्ठ नागरिकको अभिलेख अद्यावधिक गर्ने, समुदायमा आधारित सेवा सञ्चालन गर्ने, स्वास्थ्य सेवा समन्वय गर्ने तथा सामाजिक सहभागिताका कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाउने प्रस्ताव गरिएको छ । ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा दिइएको छुट सुविधा सहजरुपमा पाउने प्रवन्बध गर्नुका साथै यस्तो सुविधा क्रमश: हवाई यातायातमा समेत प्राप्त गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । 

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully