प्रधानमन्त्री शाह र निर्माण व्यवसायीबीच भेट

निर्माण क्षेत्रका समस्या, निर्माण व्यवसायको प्रवर्द्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री शाह र निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग बिहीबार छलफल भएको हो ।

असार २५, २०८३

कान्तिपुर संवाददाता

Meeting between Prime Minister Shah and construction entrepreneurs

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह र निर्माण व्यवसायीबीच भेटवार्ता भएको छ । निर्माण क्षेत्रका समस्या, निर्माण व्यवसायको प्रवर्द्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री शाह र निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग बिहीबार छलफल भएको हो ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए ।

उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए । 

उनीहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा उनीहरूले व्यक्त गरेका थिए । 

कान्तिपुर

Link copied successfully