विभागका अनुसार आइतबार उपभोक्ताबाट परेको उजुरीका आधारमा विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले निरीक्षण गरेको थियो।
What you should know
काठमाडौँ — असुरक्षित ढुवानी गरिएको मासु प्रयोग गरेर परिकार बनाएको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको मध्यपुर थिमीस्थित जिरे खुर्सानी दरबार रेष्टुरेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागका अनुसार आइतबार उपभोक्ताबाट परेको उजुरीका आधारमा विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले निरीक्षण गरेको थियो। अनुगमनका क्रममा संकलन गरिएको मासुको प्रयोगशाला परीक्षणमा मानव स्वास्थ्यका लागि हानिकारक सूक्ष्मजीव (ब्याक्टेरिया) भेटिए विहीबार प्रयोगशाला प्रतिवेदनबाट खुलेपछी कारबाही गरिएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार असार २१ गते परेको उजुरीमा रेष्टुरेन्टले असुरक्षित तरिकाले ढुवानी गरिएको मासु प्रयोग गरी परिकार तयार गरिरहेको उल्लेख थियो। त्यसपछि अनुगमन टोलीले रेष्टुरेन्टबाट मासुको नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो।
निरीक्षणका क्रममा करिब १४.२ किलोग्राम काँचो कुखुराको मासु, ५ किलोग्राम तन्दुरीका लागि तयार पारिएको काँचो मासु तथा फ्रिजमा भण्डारण गरिएको श्रोत नखुलेको करिब १८ किलोग्राम मासु बिक्री–वितरण तथा प्रयोगमा तत्काल रोक लगाइएको थियो।
विभागकी प्रवक्ता तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले प्रयोगशालाको प्रतिवेदनमा मासुमा स्वास्थ्यका लागि हानिकारक सूक्ष्मजीवको उपस्थिति पुष्टि भएपछि पुनः अनुगमन गरी सम्पूर्ण असुरक्षित मासु नष्ट गरिएको जनाएकी छन् । विभागद्धारा विहीबार जारी विज्ञप्ती अनुसार प्रयोगशालाको परीक्षण प्रतिवेदनले मासु मानव स्वास्थ्यका लागि असुरक्षित रहेको देखिएपछि मानव उपभोगमा जान नदिन सबै मासु नष्ट गरिएको हो । खाद्य सुरक्षाको मापदण्ड उल्लंघन गर्ने व्यवसायीमाथि कानुनबमोजिम कारबाहीलाई विभागले निरन्तरता दिने जनाएको छ ।
विभागका अनुसार नष्ट गरिएको मासुमा करिब १४.२ किलोग्राम काँचो कुखुराको मासु, ५ किलोग्राम तन्दुरीका लागि तयार गरिएको मासु र श्रोत नखुलेको करिब १८ किलोग्राम मासु रहेको थियो।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) अन्तर्गत कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम जिरे खुर्सानी दरबारलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य व्यवसायीलाई उत्पादन, ढुवानी, भण्डारण र बिक्री–वितरणका सबै चरणमा खाद्य सुरक्षा र स्वच्छतासम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गर्दै यस्ता अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ।
