साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका निलो रङका बसका अधिकांश तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारिएका वा सम्पादन गरिएका देखिन्छन्।
What you should know
काठमाडौँ — सरकारले महिलाको सुरक्षित यात्रालाई लक्ष्य राख्दै साझा यातायातमार्फत ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी गरिरहेका बेला बसको रङ परिवर्तन गरिने भन्ने विषय सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ। तर, साझा यातायातले हरियो रङका बसलाई निलो रङमा पोतेर सञ्चालन गरिने हल्ला सत्य नभएको जनाएको छ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका निलो रङका बसका अधिकांश तस्बिर कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारिएका वा सम्पादन गरिएका देखिन्छन्। उनले ‘ब्लु बस’ सञ्चालनका लागि बसको रङ परिवर्तन नगरिने स्पष्ट पारे।
उनले भने, 'साझाको आफ्नै मौलिक ब्रान्ड छ। त्यसलाई परिवर्तन गरेर बसको रङ फेर्ने योजना छैन। महिलाका लागि छुट्टै सेवा पहिचान गराउन बसमा स्टिकर वा अन्य दृश्यात्मक चिन्ह प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ।'
अर्यालका अनुसार ‘ब्लु बस’ नामले सेवा अवधारणालाई मात्र जनाउने भएकाले बसको रङ परिवर्तन गर्ने कुनै योजना छैन। महिलामैत्री सेवालाई सहज रूपमा चिनाउन स्टिकर, ब्यानर वा अन्य दृश्यात्मक माध्यम प्रयोग हुन सक्ने भए पनि हरियो रङ फेरेर निलो बनाउने सरकारको योजना नरहेको उनले बताए।
उनले साउन १ गतेदेखि साझाका २६ सिट क्षमताका आठवटा विद्युतीय बस महिलाका लागि निःशुल्क सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए। यद्यपि, सञ्चालनको समय र बसको अन्तिम संख्या भने अझै टुंगो लागिनसकेको उनले बताए।
प्रारम्भिक योजनाअनुसार उपत्यकामा बुढानीलकण्ठ–लगनखेल–गोदावरी रुटमा दुईवटा, नागढुंगा–विमानस्थल रुटमा दुईवटा तथा चक्रपथ (रिङरोड) मा चारवटा विद्युतीय बस सञ्चालन गरिनेछ। चक्रपथमा चल्ने चारमध्ये दुईवटा बस कोटेश्वर–गौशाला–कलङ्की रुटमा तथा अन्य दुईवटा कोटेश्वर–सातदोबाटो–कलङ्की रुटमा (क्लकवाइज र एन्टी–क्लकवाइज) सञ्चालन गर्ने योजना तयार गरिएको छ।
सरकारले २०८२ साल चैत १३ गते सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा ‘ब्लु बस’ सेवा समावेश गरेको थियो। सोही कार्यसूचीअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले महिलाका लागि सीसी क्यामेरासहितको ‘ब्लु बस’ सेवा सञ्चालन गरिने घोषणा गरेका थिए।
