लुम्बिनी र बनारसका व्यवसायीबीच निजी क्षेत्र, सरकार र सरोकारवालासितको समन्वयमा यी गन्तव्यको प्रवर्द्धन गर्ने सहमति भएको हो । लुम्बिनीमा आयोजित तीनदिने लुम्बिनी–बनारस बीटूबी ट्राभल मार्ट तथा फ्याम ट्रिप कार्यक्रममा यस्तो सम्झौता गरिएको हो ।
What you should know
लुम्बिनी — नेपालको लुम्बिनी र भारतको बनारसलाई धार्मिक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने सहमति गरिएको छ । लुम्बिनी र बनारसका व्यवसायीबीच निजी क्षेत्र, सरकार र सरोकारवालासितको समन्वयमा यी गन्तव्यको प्रवर्द्धन गर्ने सहमति भएको हो । लुम्बिनीमा आयोजित तीनदिने लुम्बिनी–बनारस बीटूबी ट्राभल मार्ट तथा फ्याम ट्रिप कार्यक्रममा यस्तो सम्झौता गरिएको हो ।
कार्यक्रममा दुवै गन्तव्यका साना ठूला ट्राभल एण्ड टुर अपरेटर कम्पनीका प्रतिनिधि र होटेलियर सहभागी थिए । लुम्बिनीको आध्यात्मिक पक्ष र भारतको सांस्कृतिक राजधानी वाराणसीलाई जोडेर पर्यटन प्रवर्द्धन गर्न ट्राभल मार्ट आयोजना गरिएको थियो । लुम्बिनी होटल संघको पहलमा भएको कार्यक्रममा लुम्बिनी र बनारसका ट्राभल एण्ड टुर अपरेटर कम्पनीका प्रतिनिधि र होटेलियरले पर्यटन प्रवर्द्धन प्रभावकारी तुल्याउन पाँचबुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
लुम्बिनीमा पर्यटकलाई एक रात भए पनि बसाउन पहल गर्ने, रूपन्देहीको सीमा क्षेत्रस्थित नेपालको कालीदह र भारतको कक्रहवा बजारलाई मित्रताको प्रतीक (फ्रन्डेसिप सहर) बनाउने र दुवै ठाउँमा थप प्याकेज टुरको विकास गरेर अघि बढ्ने सहमति भएको छ ।
दुवै गन्तव्यबीच सडक संजाल सुढृढ गर्दै यातायात साधनले कनेक्टिभिटी जोड्न पहल गर्ने तथा दुबै ठाउँका संचारकर्मी, कन्टेन्ट क्रियटर र ट्राभल एण्ड टुर अपरेटर र होटेलियरले अनुभव आदान–प्रदानका लागि एकअर्काको गन्तव्यमा भ्रमण गर्ने सहमति भएको छ । सम्झौतामा लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्मा र बनारस टुरिजम गिल्डका अध्यक्ष सुभाष कपुरले हस्ताक्षर गरेका छन् । सोमबार सुरु भएको कार्यक्रम बुधबार सकिएको हो । कार्यक्रममा लुम्बिनी क्षेत्रमा रहेका होटल र ट्राभल एण्ड टुर कम्पनीले स्टल राखेर आफूले दिने सेवा सुविधा र आफ्ना होटल प्याकेजबारे जानकारी दिएका थिए ।
भारतीय होटल र ट्राभल एण्ड टुर कम्पनी प्रबन्धक र प्रतिनिधिले नेपाली होटलले दिने सेवाबारे जानकारी लिँदै सहकार्यको प्रस्ताव अघि बढाएको बनारस टुरिजम गिल्ड अध्यक्ष कपुरले बताए । ‘एकापसमा परिचय र सेवा सुविधाबारे प्रारम्भिक छलफल भयो,’ उनले भने, ‘जसलाई जुन होटलको प्याकेज र सुविधा राम्रो लागेको छ, उहाँहरूले थप संवाद गर्दै होटलमा आफ्ना पाहुना पठाउँदै दुवै ठाउँको पर्यटन प्रवर्द्धन गर्न लाग्नेछन् ।’ कार्यक्रममा लुम्बिनीका सानादेखि तारे होटलका २५ स्टल राखिएका थिए ।
कार्यक्रममा दुवै ठाउँमा पर्यटन प्रवर्द्धन गर्न छलफल गरिएको थियो । लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्त्वबारे सहभागीलाई वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले जानकारी दिएका थिए । भारतीय सहभागीलाई बुद्ध जन्मस्थल लुम्बिनी, शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु, तिलौराकोट, राजकुमार सिद्धार्थले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आमाबाबुलाई भेटघाट गरेको स्थल निग्राधाराम, बुद्धको अस्तु धातु रहेको मानिने रामग्राम लगायतका स्थलको अवलोकन भ्रमण पनि गराइएको थियो । कार्यक्रममा भारतको बनारसका साथै दिल्ली, लखनउ र बौद्धगयाका ४० जना ट्राभल एण्ड टुर अपरेटर कम्पनीका प्रतिनिधि र होटेलियर सहभागी थिए ।
दुवै मुलकका ट्राभल एण्ड टुर अपरेटर र होटल व्यवसायीबीच खुलेर छलफल हुँदा कार्यक्रम प्रभावकारी भएको लुम्बिनी होटल संघका अध्यक्ष शर्माले बताए । यसले लुम्बिनीको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजार विस्तार र नेपाल–भारतबीच धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न थप सहयोग पुगेको उनले बताए । लुम्बिनीमा निजी स्तरबाट संचालन भएको यो पहिलो ट्राभल मार्ट हो । कतै कुन सहयोग नदिई स्वतःस्फूत रूपमा लुम्बिनीकै होटल व्यवसायीले आफ्नो होटलमा बास र खानाको प्रबन्ध गरी पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गरेको उनले बताए । लुम्बिनीमा चारतारेदेखि बजेट फ्रेन्डली ८३ वटा होटल र रेस्टुरेन्ट छन् ।
लुम्बिनी राजकुमार सिद्धार्थको जन्मस्थलका रूपमा विश्वमै चिनिएको छ । विश्व शान्तिको मुहान लुम्बिनीलाई हिन्दु पौराणिक कथामा मोंक्ष नगरी मानिने बनारससँग जोडेर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बनारसका सांकृत टुरजोनका निर्देशक अभिषेक सांकृतले बताए ।
