सेवाग्राहीका लागि मन्त्रालयमा व्हीलचेयर सेवा

शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आवश्यकता अनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयको सम्पूर्ण परिसरमा व्हीलचेयर सेवा उपलब्ध गराइएको हो ।

असार २४, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा आउने सेवाग्राहीको सहजता र पहुँच सुनिश्चित गर्न आजदेखि व्हीलचेयर सेवा सञ्चालनमा ल्याएको छ । 

शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आवश्यकता अनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयको सम्पूर्ण परिसरमा व्हीलचेयर सेवा उपलब्ध गराइएको हो । 

मन्त्रालयमा सेवा लिन आउने नागरिकलाई सहज, सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस सेवाले सार्वजनिक सेवा प्रवाहलाई थप पहुँचयुक्त, समावेशी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवत्ता चक्र बहादुर बुढाले मन्त्रालयमा कामको सिलसिलामा आउने सेवाग्राहीहरुलाई लक्षित गरेर व्हीलचेयर सेवाको सुरुवात गरेको बताए ।

उनले भने, ‘व्हीलचेयर सेवा सबै मन्त्रालयमा सुरु भएको सुनेको छ तर हाम्रो मन्त्रालयमा दुईवटा व्हीलचेयर रहेका छन् ।व्हीलचेयर प्रयोग गर्ने कोही सेवाग्राही भेटघाटमा आएमा, सेवा लिन आएमा सहजीकरणका लागि व्हीलचेयर प्रयोगमा ल्याएका छौं ।’

नेपाल सरकारको समावेशी शासन, समान पहुँच र नागरिकमैत्री सेवा प्रवाहको प्रतिबद्धताअनुरूप मन्त्रालयले यो पहल अघि बढाएको हो । मन्त्रालयले आगामी दिनमा पनि सेवाग्राहीको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै थप सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully