प्रधानमन्त्रीलक्षित 'अश्लील सामग्री' प्रसारण गर्ने युट्युबर पुर्पक्षका लागि थुनामा

युट्युबर रोशन पोखरेलको परिवारका सदस्यले भने उनको पक्राउ र अभियोगपत्र जायज नभएको भन्दै उच्च अदालत विराटनगर, इलाम इजलासमा पुनरावेदन गरेका छन् ।

असार २३, २०८३

लक्ष्मी गौतम

YouTuber who broadcasts 'pornographic' content targeting PM remanded in custody

What you should know

पाँचथर — प्रधानमन्त्री वालेन्द्र शाह  र उनको परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत अश्लील तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाँचथरका एक युट्युबरविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय पाँचथरले फाल्गुनन्द गाउँपालिक-७ का २४ वर्षीय रोशन पोखरेलविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत पाँचथरमा अभियोगपत्र दायर गरेको हो । प्रहरी अनुसन्धानअनुसार पोखरेलले प्रधानमन्त्री र उनको परिवारको मान-प्रतिष्ठामा आँच पुग्ने सामग्री विभिन्न सामाजिक सञ्जालमा प्रसारण गरेका थिए ।

अनुसन्धानका क्रममा पोखरेलले आफूले हेड्स जंगल नामबाट फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युब सञ्चालन गर्दै आएको स्वीकार गरेका छन् । ती प्लेटफर्ममा लाइक, कमेन्ट र पहुँच बढाउने उद्देश्यले प्रधानमन्त्रीलाई अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको उनले बयानमा स्वीकार गरेको अभियोगपत्रमा उल्लेख छ ।

उनले अन्य राजनीतिक नेताहरूलाई पनि व्यङ्ग्य र गाली गरेर भिडियो बनाउने गरेको तथा त्यस्ता सामग्री सार्वजनिक गर्नु कानुनविपरीत हुने जानकारी हुँदाहुँदै आवेगमा आएर यस्तो कार्य गरेको बयान दिएका छन ।

प्रहरीले खानतलासीका क्रममा पोखरेलको साथबाट मोबाइल फोन र सिमकार्ड बरामद गरी परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक प्रयोगशालामा पठाएको छ ।

सहायक जिल्ला न्यायाधिवक्ता अवसर मादेनले दायर गरेको अभियोगपत्रमा विद्युतीय कारोबार ऐनको दफा ४७ (१) अनुसार सजाय माग गरिएको छ । उक्त व्यवस्थाअनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

अभियोगपत्रमा अपराधमा प्रयोग गरिएको मोबाइल फोन जफत गर्न, साथै पीडितको प्रतिष्ठामा पुगेको क्षति र सामाजिक नोक्सानीलाई आधार मानी पीडित राहत कोषमा जम्मा हुने गरी उपयुक्त क्षतिपूर्ति भराउनसमेत अदालतसाग माग गरिएको छ ।

मुद्दा दर्ता भएसँगै पोखरेललाई पाँचथर कारागार चलान गरिएको छ । पोखरेललाई भिडियोमा अश्लील सामग्री समावेश गरेको भन्दै गत चैत २६ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकै दिन असार १८ गते हाजिर हुन आउने सर्तमा छोडिएका उनी अभियोग पत्र दर्ता भएसँगै अदालतको आदेश अनुसार कारागार चलान भएका हुन् ।

परिवारका सदस्यले भने उनको पक्राउ र अभियोगपत्र जायज नभएको भन्दै उच्च अदालत विराटनगर, इलाम इजलासमा पुनरावेदन गरेका छन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully