सबै राजमार्गमा अन्डरपास र ओभरपास : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली राजमार्ग सुधारका लागि पर्याप्त बजेट विनियोजन गरिएको र आगामी दिनमा एक लेनका सडकलाई क्रमशः दुई लेनमा स्तरोन्नति गरिने बताए ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

Underpasses and overpasses on all highways: Minister Lamsal

What you should know

काठमाडौँ — सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित गर्न देशभरका प्रमुख राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ निर्माण गर्ने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै सडक सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि खोला–खोल्सी र जोखिमयुक्त स्थानमा पुल निर्माणलाई तीव्रता दिइने जानकारी दिँदै उनले देशभर ३ हजार पुल निर्माण गर्ने लक्ष्य राखिएको बताए । 

कर्णाली राजमार्गको दयनीय अवस्था, सडक दुर्घटना तथा उद्धारमा हुने ढिलाइबारे सांसद दुर्गाकुमारी गुरुङले उठाएको प्रश्नको जवाफमा मन्त्री लम्सालले कर्णालीका सडकको अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गरे । उनले  कर्णाली राजमार्ग सुधारका लागि पर्याप्त बजेट विनियोजन गरिएको र आगामी दिनमा एक लेनका सडकलाई क्रमशः दुई लेनमा स्तरोन्नति गरिने बताए ।

'यस्तो अवस्था दोहोरिन नदिन एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यक्रम ल्याएका छौँ । चालु आर्थिक वर्षभित्र सबै एक लेन सडक विस्तारका लागि ठेक्का प्रक्रिया सुरु गर्ने लक्ष्य छ,' मन्त्री लम्सालले भने ।

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाइने र पर्यटकीय राजमार्गहरूको स्तरोन्नति गरी सुरक्षित यातायात सुनिश्चित गरिने उनको भनाइ छ । मन्त्री लम्सालले कालीगण्डकी करिडोरका बाँकी सडकखण्ड सम्पन्न गर्न पहिरो तथा मनसुनी फेरबदल चुनौती बने पनि पहिरो व्यवस्थापनका लागि विशेष योजना अघि बढाइएको बताए । देशभर पहिचान भएका पहिरो जोखिमयुक्त क्षेत्रको दिगो व्यवस्थापनका लागि पनि बजेट व्यवस्था गरिएको उनको भनाइ छ ।

मन्त्री लम्सालले सार्वजनिक खरिद प्रक्रियामा हुने ढिलाइ अन्त्य गर्न १८ देखि २१ महिना लाग्ने प्रक्रिया घटाएर छ–सात महिनामा सम्पन्न गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

मन्त्री लम्सालले निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेका आयोजनाबारे मन्त्री लम्सालले पटकपटक म्याद थप्दा पनि काम नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गरिएको बताए । 'अझै केही आयोजनामा रद्द गर्ने प्रक्रिया अघि बढाएका छौँ । केही निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न अन्तिम चेतावनी दिइएको र कतिपयलाई कालोसूचीमा समेत राखिएको छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully