नेपाललाई २०२९ भित्र थप २ अर्ब ४० करोड डलर ऋण दिने एडिबी अध्यक्ष कान्डाको घोषणा

नेपालमा एडिबीले अहिलेसम्म विभिन्न परियोजनामा गरेर ३ अर्ब ९० करोड डलर लगानी गरिसकेको छ ।

असार २३, २०८३

अनिल गिरी

ADB President Kanda announces additional $2.4 billion loan to Nepal by 2029

काठमाडौँ — एसियाली विकास बैंक (एडिबी) ले आगामी चार वर्षभित्र नेपाललाई थप २ अर्ब ४० करोड डलर ऋण सहयोग दिने भएको छ ।

बैंकका अध्यक्ष मासातो कान्डाले काठमाडौंमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेपछि मंगलबार यस्तो घोषणा गरेका हुन् । 

'नेपाल थप गतिशिल र स्थिर अर्थतन्त्र निर्माण गर्ने अवसरसहितको महत्वपूर्ण मोडमा छ,' कान्डाले भने, 'एडिबी नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदार बन्दैछ र हाम्रो सहयोग सन् २०२९ भित्र थप २ अर्ब ४० करोड पुग्ने अपेक्षा गरेका छौं । रोजगारी सिर्जना, बलियो व्यवसाय र नेपालको जीवनस्तर उकास्नेगरी नतिजामुखी सहयोग उपलब्ध गराउनु हाम्रो ध्येय हो ।'

नेपाल र एडिबीले यसअघि गरेको कन्ट्री पार्टनरसिप स्ट्रयाटिजी (सिपिएस) सहमति अनुरुप यो ऋण सहयोग आउन लागेको हो । उक्त सहमतिमा २०२५ देखि २०२९ सम्म यस पञ्चवर्षीय योजना लागु हुने उल्लेख थियो । 

नेपालमा एडिबीले अहिलेसम्म विभिन्न परियोजनामा गरेर ३ अर्ब ९० करोड डलर लगानी गरिसकेको छ । 

बैठकका दौरान कान्डाले प्रधानमन्त्री शाहलाई बलियो जनादेशसहित निर्वाचत भएकोमा बधाई दिएका छन् । सरकारले अघि सारेका महत्वाकांक्षी आर्थिक रुपान्तरण, रोजगारी सिर्जना र लगानी भित्र्याउने काममा एडिबीको सहयोग रहने प्रतिबद्धता उनले दोहोर्‍याएका छन् । 

‘सन् २०२९ सम्म गरिने नयाँ ऋण सहयोगसँगै एडिबी नेपालको सबैभन्दा ठूलो विकास साझेदार हुनेछ । यसले प्रधानमन्त्रीको योजनालाई नतिजामा बदल्नेगरी सहयोग गर्नेछ,’ एडिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

एडिबीले विगत ६० वर्षयता सुरक्षित विद्यालय, सफा ऊर्जा, बलियो पूर्वाधार, राम्रा अवसरलगायत विभिन्न क्षेत्रमा नेपाल सरकारसँग मिलेर काम गरेको विज्ञप्तिमा उल्लेख छ । 

कान्डाको भ्रमणका क्रममा एडिबीले आफ्नो वार्षिक प्रतिबद्धताअनुरुप दुईवटा ऋण सम्झौतामा पनि हस्ताक्षर गरेको छ । जसअनुसार नेपालले कुल १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण पाउनेछ । 

भरपर्दो, सुरक्षित रुपमा व्यवस्थापन गरिएको खानेपानी र सरसफाईमा ११ करोड ५० लाखको परियोजना केन्द्रित हुनेछ । यसले ८ लाख ५० हजारभन्दा धेरै मानिसहरुलाई सेवा पुर्‍याउने लक्ष्य लिएको छ ।

त्यस्तै, ५ करोडको नीतिगत ऋणमा आधारित योजनाले नेपालको सिमा व्यापार प्रणालीलाई आधुनिकीकरण गर्नेछ । यसमा डिजिटलाइजेनशन र प्रक्रियाहरुलाई सरल बनाएर व्यवसायीहरुको लागत घटाउने, कार्यक्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने विषयहरु समावेश छन् । 

प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहालका अनुसार आधा घण्टासमम प्रधानमन्त्री र एडिबी अध्यक्षबीच भएको भएको भेटमा प्रधानमन्त्रीले विकास, सुशासन र पारदर्शीतामा आगामी दिनहरुमा नेपालले राम्रो प्रगति गर्ने बताएका थिए । 

दुई पक्षबीच हाइड्रोपावर र पर्यटनलाई प्रवद्र्धन गर्ने, पर्यटनसँग सम्बन्धित सडक पूर्वाधार निर्माण र डिजिटलाईजेशनमा सहकार्य गर्ने विषयमा पनि सकारात्मक छलफल भएको उनले बताइन् । 

नेपालमा विकास सहायतालाई वृद्धि गर्ने एडिबीको प्रतिवद्धता कान्डाले भेटमा दोहोर्‍याएका थिए । 

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully