होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारको खाना बन्द, लजबाट पनि हटाइयो

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाटले भने, ‘सबै होल्डिङ सेन्टरमा खाना बन्द गराइसकेका छौं । अब उहाँहरूले आफैं व्यवस्थापन गर्नुपर्छ ।’

असार २२, २०८३

समर्पण श्री

Sukum residents in holding centers denied government food, removed from lodges

What you should know

काठमाडौँ — काभ्रेको बनेपास्थित रेडक्रस होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीलाई सोमबार बिहान क्यान्टिनका कर्मचारी आएर भने, ‘हामी तपाईंहरूलाई आजसम्म मात्र खाना खुवाउनेछौं । भोलिबाट क्यान्टिन बन्द हुन्छ । आफ्नो व्यवस्था गर्नुहोला ।’

अचानक खाना रोकिने जानकारी आएपछि उनीहरूले कारणबारे सोधे ‌।

‘खासमा हामीलाई १९ गतेबाट नै रोक्ने आदेश आएको थियो । त्यतिन्जेलको लागि मात्र पैसा दिइएको थियो । तपाईंहरूकै मायाले केही दिन सहयोग गरेका हौं । भोलिबाट त सम्भावना नै छैन,’ क्यान्टिनका कर्मचारीको भनाइ उद्धृत गर्दै होल्डिङ सेन्टरमा बस्ने रिमा पोखरेलले भनिन् ।

खाना रोकिने भएपछि होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू यतिबेला ठूलो चिन्तामा छन् । ‘कति बिरामी हुनुहुन्छ, कतिका बालबच्चा छन्, झन् बिजोगमाथि बिजोग हुने भयो, हाम्रो गुहार पनि कसैले सुन्दैनन्,' रिमाले दुखेसो पोखिन् ।

सरकारले स्व-व्यवस्थापनका लागि भनेर वितरण गरेको २५ हजार पनि सबैले नपाएको र पाउनेहरूले पनि यत्तिको भरमा व्यवस्थापन गर्न नसक्ने उनको भनाइ छ । ‘कतिले त त्यो पैसा पनि पाउनुभएको छैन । पाएकाले पनि त्यति पैसाले के खाने, के जोड्ने, भएका सबै सामान बाटैमा मिले, कसरी सम्भव छ,’ रिमाले भनिन् ‌‌।

काठमाडौँको बसपार्क, मित्रनगरमा रहेको 'काठमाडौं एन्ड लज'मा राखिएका विस्थापित सुकुमवासी पनि त्यहाँबाट निकालिएपछि अन्योलमा परेका छन् । त्यहाँ बस्दै आएकी सविना मगरले आफूहरूलाई आइतबार होटल सञ्चालकले कोठा छाड्न दबाब दिइरहेकाले सोमबार बिहानैबाट आफूहरू सडकमा निस्केको बताइन् । ‘हामीलाई आइतबार आएर तिमीहरूलाई १९ गतेसम्मका लागि हो भनेर निस्कन दबाब दिए । अब हामी कहाँ जाने, के गर्ने थाहा छैन । माइतीघर गएर आन्दोलन गर्छौं,’ उनले भनिन् । 

सविनाले आफूहरूलाई होटलका मानिसले त्यहाँ बस्न थालेदेखि नै दुर्व्यवहार गरेको बताइन् । ‘होटलमा बस्न थालेदेखि नै हामीलाई राम्रो व्यवहार गरिएको थिएन । होटलवालाले अपशब्द प्रयोग गरेर गाली गर्थे । जहिले पनि बासी खाना खुवाइन्थ्यो ।दालको नाममा पिठो घोलेर खुवाउने र एकपटक पकाएको दाल तीन पटकसम्म खुवाउने गरिन्थ्यो,' उनले सुनाइन् ।

६ जनाको परिवार भए पनि होटलले एउटा मात्र कोठा दिँदा सबै नअटाएकाले सुरुदेखि नै छोराछोरीलाई साथीहरूकोमा राख्न बाध्य भएको उनले सुनाइन् । ‘तर उनीहरूले खानामा भने बच्चाहरूसहित ६ जनाकै जोडेका रहेछन् । हामीलाई त अन्याय मात्र गरे,’ उनले भनिन् ।

खरिपाटीमा रहेको होल्डिङ सेन्टरमा पनि सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनको टोली पुगेर होल्डिङ सेन्टर छाड्नका लागि आग्रह गरेको त्यहाँ बसिरहेका पवन गुरुङले बताए । 

Sukum residents in holding centers denied government food, removed from lodges

महर्जनले यहाँ बस्दा रोग लाग्ने र मानसिक समस्या हुने भन्दै आफैं कोठा खोजेर बस्न सुझाएका थिए ।

घर नै भत्केपछि २५ हजारले व्यवस्थापन गर्न नसकिने पवन बताउँछन् । 'हिजो यहाँ रुवाबासी नै भयो । हामीले हाम्रो समस्या राख्यौं,' उनले भने, 'उहाँले व्यवस्था गर्न नसक्नेको नाम टिपाउनुस् हामी केही गरौंला भन्नुभयो ।’ 

पवनका अनुसार खरिपाटीमा बसेकामध्ये आधा मानिसहरूको खातामा पैसा आउन बाँकी छ । ‘उहाँले अब खाना पनि बन्द हुने भएकाले आफैं पैसा तिरेर त्यसको व्यवस्थापन गर्नुपर्छ भन्नुभयो । सरकारले दिएको जिम्मेवारी आफूहरूले पूरा गरेको, जग्गा दिने कुरा आफूहरूको जिम्मेवारीमा नपर्ने भन्दै बाँकी बुझ्नका लागि भौतिक पूर्वाधार मन्त्रालयमा डेलिगेसन जान सुझाउनुभयो,’ उनले भने, ‘अब कहाँ जाने, के हुने हो हामी अन्योल र दोधारमा छौं ।’

सरकारले सबै होल्डिङ सेन्टरमा खाना बन्द गराएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाटले बताए । ‘हामीले बनेपा मात्र नभई सबै होल्डिङ सेन्टरबाट १९ गतेदेखि नै बन्द गराइसकेका छौं । त्यत्रो पटक समय थप गर्‍यौं । अब उहाँहरूले आफैं व्यवस्थापन गर्नुपर्छ,’ उनले भने । 

सरकारले होल्डिङ सेन्टर छाडेर स्वव्यवस्थापन गर्नका लागि यसअघि सुरुमा पाँच दिनको समयवधिभित्र १२ गतेसम्मको समय दिएको थियो । त्यसपछि १९ गतेसम्मका लागि समयावधि थपेको थियो । त्यो पनि सरकारले वितरण गर्ने २५ हजार रुपैयाँ पठाउन सरकारकै तर्फबाट ढिला भएका कारण समय थपेको थियो । सरकारले स्वव्यवस्थापन गर्नेलाई तीन महिनासम्म मासिक १५ हजारका दरले रकम दिने पनि वाचा गरेको थियो । 

समितिका अध्यक्ष भाटका अनुसार अहिले होल्डिङ सेन्टरभित्र बसेका ३ सय ८८ परिवारमध्ये २ सय ५४ जनाको खातामा पैसा गएको छ । ‘बाँकी कतिले निवेदन दिनुभएन, नेता भएर बस्नुभयो । कतिको नागरिकता र डकुमेन्ट थिएन, कतिको मिस्टेक भएको थियो । हामी नपाउनेहरूको हकमा पनि काम गरारहेक छौं,’ उनले भने । होल्डिङ सेन्टर बाहिर रहेकाहरूको खातामा भने पैसा गइसकेको छैन । यसको लागि पनि आफूहरूले प्रक्रिया अगाडि बढाइरहेको उनले बताए । 

भाटले विभिन्न होल्डिङ सेन्टरबाट मान्छेहरू निस्किसकेको बताए । ‘नगरकोटबाट आधा मान्छे गए, कतिलाई हामीले गाडी पठाएर पनि सहयोग गर्‍यौं,' उनले भने, ‘अब समय थपिन्न । १९ गते नै अन्तिम हो । हामीले बन्दुक‌र बम पड्काएर, बल प्रयोग गरेर निकाल्दैनौं । प्रहरी लगाएर निकाल्न सक्थ्यौं, त्यसो पनि गरेनौं ।’

यदि विस्थापितहरू बस्ने हो भने अब खाना र खाजाको व्यवस्था आफैं गर्नुपर्ने बताए । 'होटलमा बस्नेहरूको हकमा हामीले बस्न पनि बन्द गराइसक्यौं । किनकि दिनको ८ सय त बसेकै पर्छ । बाँकीलाई खाना बन्द गरायौं,’ उनले भने ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully