प्लास्टिकका पानी ट्‍यांकीको गुणस्तर सुनिश्चित गर्न मापदण्ड संशोधन हुँदै

प्रस्तावित मापदण्डअनुसार ट्याङ्कीको मुख्य भाग, बिर्को र पानीको सम्पर्कमा आउने सामग्रीहरू पानीको स्वाद र रङमा प्रभाव पार्ने खालको हुनु हुँदैन ।

असार २३, २०८३

कृष्णा प्रसाईं

Standards being revised to ensure quality of plastic water tanks

What you should know

काठमाडौँ — नेपाल गुणस्तर तथा नापतौल विभागले रोटेसनल मोल्ड पोलिथिन पानी ट्यांकीका लागि नयाँ मापदण्ड प्रस्ताव गरेको छ । संशोधित मापदण्डको मुख्य विशेषता 'माइग्रेसन टेस्ट'को समावेश हो । यसले ट्यांकीबाट पानीमा प्लास्टिकका कणहरू मिसिन्छन् वा मिसिँदैनन् भन्ने परीक्षण गर्छ ।

माइक्रोप्लास्टिक माइग्रेसन टेस्टले पानी ट्यांकीको सामग्रीलाई निश्चित तापक्रम र समयमा डिस्टिल्ड वाटर खाद्य पदार्थको नमुनामा राखेर त्यसबाट निस्कने माइक्रो र नानो-साइजका प्लास्टिकका कणहरूको मात्रा विश्लेषण गर्छ । 

नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक अनिल शाक्यले भने, 'यदि प्लास्टिकका ट्यांकीहरू नेपाल गुणस्तर अनुसार निर्माण गरिएका छैनन् भने घाम र तापको लामो सम्पर्कका कारण ती ट्यांकीहरू बिग्रिँदा प्लास्टिकका सूक्ष्म कणहरू भण्डारण गरिएको पानीमा मिसिन सक्छन् ।'

उनले थपे, 'उपभोक्ताहरूले सुरक्षित खानेपानी पाउन् र उनीहरू न्यून गुणस्तरका उत्पादनबाट ठगिन नपरोस् भन्ने सुनिश्चित गर्न यो संशोधित मापदण्ड तयार पारिएको हो ।'

मस्यौदाका अनुसार बाहिरी प्रयोगका लागि बनाइने पानी ट्यांकीहरू कार्बन ब्ल्याक कम्पाउन्डेड पोलिथिनबाट निर्माण गरिनुपर्छ । यसमा कार्बन ब्ल्याकको मात्रा २ देखि ३ प्रतिशतबीचमा हुनुपर्नेछ र यसको फैलावट नेपाल गुणस्तरअन्तर्गत तोकिएको परीक्षण प्रक्रिया पूरा गर्नु पर्नेछ ।

अहिले सन् १९९५ मा लागू गरिएको मापदण्ड कार्यान्वयनमा छ । नेपाल गुणस्तर प्रमाणपत्र  लिनेले मात्रै यो मपदण्ड पालन गर्दै आइरहेका छन् । गुणस्तर प्रमाणपत्र नलिनेहरूले यसका प्रावधानहरू पालना गर्न बाध्य छैनन । प्रमाणपत्र नलिने उत्पादकहरूले मापदण्ड पालना नगरी ट्याङ्की उत्पादन र बिक्री गर्न पाइरहेका छन् ।

करिब तीन दशक पुरानो मापदण्डलाई अद्यावधिक गर्न विभागले आफ्ना प्राविधिक महाशाखा, इन्जिनियरिङ क्याम्पस र पानी ट्याङ्की उत्पादकहरूका प्रतिनिधिहरू सम्मिलित एउटा समिति गठन गरेको छ।

मस्यौदाअनुसार ट्याङ्की उत्पादन गर्दा निस्किएको पुन: प्रयोग गर्न सकिने खालको सामाग्री १० प्रतिशतभन्दा धेरै प्रयोग गर्न पाइँदैन । यस्तै, अन्य कुनै पनि स्रोतबाट प्राप्त रिसाइकल गरिएको प्लास्टिक फोहोर वा पुनः प्रशोधित सामग्रीहरू उत्पादन प्रक्रियामा प्रयोग गर्न पाइँदैन ।

पानी ट्याङ्की निर्माणमा प्रयोग गरिने पोलिथिन रेजिन 'रोटेसनल मोल्डिङ' ग्रेडको र एन्टिअक्सिडेन्टद्वारा स्थिर गरिएको हुनुपर्नेछ । त्यस्तै,  हानिकारक एन्टिअक्सिडेन्टहरू प्रयोग गर्न पाइँदैन । नेपाल गुणस्तरअन्तर्गत स्वीकृत सूचीबाट छनोट गरिएको एन्टिअक्सिडेन्टमात्रै प्रयोग गर्न पाइन्छ । 

प्रस्तावित मापदण्डअनुसार ट्याङ्कीका कारण पानीको स्वाद र रङमा प्रभाव पार्ने खालको हुनु हुँदैन । मस्यौदाले उत्पादकहरूलाई एकल-तह वा दुई-तहका रोटेसनल मोल्डेड पोलिथिन ट्याङ्कीहरू उत्पादन गर्न अनुमति दिन्छ । दुई-तहका ट्याङ्कीहरूको हकमा, भित्री तह सेतो हुनुपर्नेछ भने बाहिरी तह कालो हुनुपर्नेछ । 

'सेतो भित्री लेयरले उपभोक्ताहरुलाई भण्डारण गरिएको पानी सफा छ वा छैन भनेर हेर्न सहज बनाउनेछ,' शाक्यले भने । 

संशोधित मस्यौदामा अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त पाँचवटा परीक्षण विधि पनि समावेश छन् । उत्पादकहरुले उत्पादनको गुणस्तर र सुरक्षा सुनिश्‍चित गर्न यो विधि प्रयोग गर्नु जरुरी छ ।

उत्पादकहरूले यस संशोधनको स्वागत गरेका छन् । उनीहरूले यसअघिको मापदण्डले अत्याधुनिक उत्पादन प्रविधि र गुणस्तर सुनिश्‍चित नगरेको बताए । 'हामीले लामो समयदेखि सरकारलाई मापदण्ड संशोधन गर्न भनेका थियौं र अहिले यो अन्तिम चरणमा छ,' हिलटेक समूहका निर्देशक पुलकित जैनले भने । 

आफ्नो कम्पनीले नेपाल गुणस्तरअनुसार पानी ट्यांकी बनाउँदै आएको र प्रस्तावित सुधारको समर्थन गर्ने बताए । 

'धेरैजसो परिवारले प्लास्टिक ट्यांकीमा भण्डार गरिएको पानी प्रयोग गर्ने भएकाले सरकारले गुणस्तर अनिवार्य गर्न जरुरी छ,' उनले भने,' धेरै उपभोक्ताहरूले नेपाल गुणस्तर प्रमाणपत्र नभएका खराब गुणस्तरका पानी ट्यांकी किनिरहेका छन् ।'

विभागका अनुसार अप्रिलको मध्यसम्म आठवटा उत्पादकहरुले नेपाल गुणस्तर प्रमाणपत्र लिएका छन् । 

यसमा हिलटेक इन्ड्रस्टिज अफ मोरङ, किसान पाइप प्रडक्टस् अफ नवलपरासी, दक्षिणकाली प्लास्टिक इन्ड्रस्ट्रिज अफ झापा, नव नेपाल प्लास्टिक इन्ड्रस्ट्रिज अफ रुपन्देही, रिजालको पोलिट्यांक इन्ड्रस्ट्रिज अफ सुनसरी, ओम पञ्चपुरी इन्ड्रस्ट्रिज अफ बाँके, नेपाल सिन्टेक्स इन्ड्रस्ट्रिज अफ चितवन र ज्ञानी पोलीट्यांक इन्ड्रस्ट्रिज अफ रुपन्देही छन् । 

कृष्णा प्रसाईं काठमाडौं पोस्टकी संवाददाता हुन् । उनी अर्थ र वाणिज्यका विषयमा रिपोर्टिङ गर्छिन् ।

Link copied successfully